शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विवादमा अर्थमन्त्री

मंगलबार, जेष्ठ ३१ २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि अर्थ मन्त्रालयबाहिरका ‘विज्ञ’ ल्याएर अन्तिम समयमा बजेटमा व्यापक चलखेल गरेको आरोप लागेको छ । याेसँगै मुलुकको राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

केही सञ्चारमाध्यमले अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयबाहिरका ‘विज्ञ’ ल्याएर अन्तिम समयमा बजेटमा व्यापक चलखेल गरेको भन्दै समाचार प्रकाशित गरेका छन् ।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेट हेरफेरमा संलग्न गराएको आरोप लागेको छ ।

घिमिरेमार्फत् नै बजेटमा व्यापकरूपमा करका दर परिवर्तन गरिएका कारण कतिपय स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै यतिबेला निजी क्षेत्रसमेत बजेटको विरोधमा उत्रिएको छ । सुरुमा बजेटको स्वागत गरेको निजी क्षेत्र एक हप्ता पनि नबित्दै विरोधमा उत्रिएको हो ।

करको दरमा भएको हेरफेरमाथि पहिल्यैबाट प्रश्न उठिरहेका थिए ।  विद्युतीय सवारीसाधनमा लगाइएको भन्सारलाई लिएर अर्थमन्त्रीको आलोचना समेत भएको थियो । विद्युतीय सवारीलाई प्रोत्साहनको कुरा गरिरहेको सरकारले बजेटमा भन्सार ह्वात्तै बढाइनु युक्तिसंगत थिएन । यसैगरी आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले पनि आशंका जन्माइरहेको छ । 

यद्यपि अर्थ मन्त्रालयले भने अर्थमन्त्रीमाथिकाे आरोप खण्डन गरेको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बजेट निर्माणमा असम्बन्धितको सहभागिता नभएकाे बताएकाे छ ।

मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा भनेको छ ।

यसअघि गभर्नर प्रकरणमा समेत मुछिएका शर्मामाथि यो खुलासा भएसँगै राजीनामा दिन पार्टीभित्रै पनि दबाब बढेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार बेलुकी अर्थमन्त्री शर्मालार्ई निवासमा बोलाई बजेटमा अनाधिकृत व्यक्तिको भूमिकाका बारेमा गम्भीर चासो व्यक्त गर्दै राजीनामा गर्न सुझाव दिएको बताइएको छ । स्रोतका अनुसार सोमबार बिहान पनि अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई हटाउनेबारेमा माओवादीभित्र छलफल गरिसकेका छन् ।