शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वाम एकताबारे माधव नेपालको खुलासा

बिहिबार, जेष्ठ १९ २०७९

सुर्खेत । देशमा बलियो शक्तिमा रुपमा रहेको कम्युनिष्ट शक्ति स्थानीय निर्वाचनमा कांग्रेस भन्दा धेरै पछि परेपछि देशमा फेरि वाम एकताको चर्चा चलेको छ । केही सञ्चार माध्यमले आफू खुशी वाम एकताका विषयमा मनगडन्ते कुरा गरेपछि वाम पार्टीका शीर्ष नेताहरु नै त्यसकाे उत्तर दिन वाध्य छन् । 

यसैबीच पार्टीको कार्यक्रमका शिलशिलामा सुर्खेत पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् ।

सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।

नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । ‘अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्’, उनले भने, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।’ 

नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भने, ‘बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।’ उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राखे ।
स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उनको भनाइ थियो ।