काठमाडौं । नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् ।
बिहीबार संसद बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताएका हुन् ।
उनले राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने बताए । सांसद ज्ञवालीले सेनिटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे ।
शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको ज्ञवालीको भनाइ थियो ।
सांसद ज्ञवालीले सरकारको यो क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताउँदै बिगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको समेत बताए ।
उनले सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताउँदै भने, ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभयो । आज फेरि त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिदैनँ ।’
बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गरे ।