काठमाडौं । देशका मुख्य-मुख्य स्थानीय तहमा पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाँदा सोचे अनुरुप सफलता हासिल गरेर हौसिएको कांग्रेस छिटो भन्दा छिटो संसदीय निर्वाचन गराउने पक्षमा छ । प्रतिपक्ष एमालेलाई हराउन मिलेसम्म सत्तारुढ पाँच दलभित्र तालमेल गरेरै चुनावमा जाने उसको रणनीति छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बाँकी दुई चुनाव गराउन हतारिएका छन् । कांग्रेसभित्रै एकथरीले चुनाव फागुनसम्म गर्न सकिने विषय पनि उठाएका छन् । तर, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा सके कार्तिकमा नभएपनि मंसिर पहिलो हप्तामा नै चुनाव गराउने पक्षमा छन् । अझ त्यो भन्दा अगाडि चुनाव गराउन पाए कांग्रेसलाई फाइदा पुग्ने कांग्रेसजनको बुझाई छ ।
देउवालाई कतै एमाले र माओवादी मिल्ने हुन् कि भन्ने त्रास छ । उनलाई विगतकाे चुनावमा एमाले र माओवादी मिल्दा २३ सिटमा कांग्रेस खुम्चिनु परेको यथार्थले झस्काई रहेको छ । त्यसकारण पनि देउवा त्याे पुरानाे गल्ति गर्ने पक्षमा छैनन् । अहिले गठबन्धनबीच सम्बन्ध राम्राे छ । माओवादी पनि स्थानीय चुनावको परिणामलाई लिएर खुशी नै छ । थोरै चित्त दुखाएका नेकपा एस र जसपालाई मनाएर चुनावमा जाँदा कांग्रेस फेरि पहिलो दल बन्नेमा देउवा ढुक्क छन् ।
पछिल्लो सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमासमेत आगामी चुनावबारे अनौपचारिक छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री देउवा सकेसम्म छिटो चुनाव गर्नुपर्ने पक्षमा बाेले । उनलाई गठबन्धनका अरु दलले पनि साथ दिए । कांग्रेस, माओवादी, नेकपा एस र जसपाबीच दुरी नबढ्दै चुनावमा जान सकिए फेरि पनि एमालेलाई रोक्न सकिने उनीहरुको ठम्याई थियाे ।
यता एमालेका नेताहरूले माओवादी र नेकपा एसलाई मिलाएर वाम गठबन्धन बनाउने प्रयासमा रहेको भन्ने पनि समाचार बाहिरिन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धेरै घमण्ड गरे एमालेलाई झैँ कांग्रेसलाई पनि ठेगान लगाइदिने अभिव्यक्ति दिन थालेका छन् । यस कुराले देउवा अझ चुनावको मिति तोक्न र गठबन्धन अझ बलियो पार्न लचक देखिएका छन् । यसै पनि देउवा फेरि प्रधानमन्त्री बन्ने योजनामा छन् । राष्ट्रपति, उपराष्ट्रपति र मुख्य मन्त्रालयमा भागबण्डा गरेर फेरि पनि एकपटक प्रधानमन्त्री बन्ने देउवाको चाहाना छ । पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्ने हतारोमा उनी चाँडै चुनाव गराउन चाहन्छन् ।
२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाकाे अर्को पटक प्रधानमन्त्री बन्ने अभिलाषाले पनि आउने संसदीय निर्वाचन समयमै हुने देखिन्छ ।