शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बजेट केवल पहिलाको झैँ कस्मेटिक मात्र भयो : अरुणराज सुमार्गी

सोमबार, जेष्ठ १६ २०७९

काठमाडौं । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट पनि पहिलेकै वर्ष झै केवल कस्मेटिक मात्र भएको बताएका छन् ।

सरकारले हिजो सदनमा प्रस्तुत गरेको बजेटका विषयमा प्रतिक्रिया दिँदै सुमार्गीले विषम परिस्थितिमा आत्मनिर्भर मुखी अर्थतन्त्र, आयात प्रतिस्थापन गर्ने किसिमले बजेट आउने अपेक्षा भएपनि बजेटले यसखालका विषय सम्वोधन गर्न नसकेको गुनासो गरे ।

उनले भने, ‘हरेक बर्ष बजेट आउँछ, हरेक वर्ष नीजि क्षेत्रले बजेटको स्वागत पनि गर्छ, तर हरेक बर्ष जिडिपीमा औद्योगिक उत्पादनको योगदान कम हुँदै गएको छ । यसैगरी कृषिमा परनिर्भरता बढ्दो छ, व्यापार घाटा बढ्दो छ,  रोजगारीको अवसर कम हुँदै गएको छ ।’

उनले सामान्य करमा भएको परिवर्तनका विषयमा क्षणिक फाईदाका लागि रमाउनुको अर्थ नभएको बताएका छन् । जबसम्म सञ्चालनमा रहेका साना तथा मझौला उद्योगको समस्या समाधान हुँदैन अथवा जबसम्म साना तथा मझौला उद्योगको लागत कम गराएर प्रतिस्पर्धात्मक बनाईदैन तवसम्म अर्थतन्त्रको जग बलियो नहुने उनको भनाइ छ ।

यसैगरी सभापति सुमार्गीले कृषि व्यवसायीकरणका लागि  कृषि उद्यमलाई याे बजेटले समेट्न नसकेको गुनासाे गरे । उनले कृषिमा व्यवसायीकरण नभएसम्म उत्पादन लागत बढी हुने बताए । साथै उनले कृषि उत्पादनमा समर्थन मूल्य तोक्ने कुरा भएपनि समर्थन मुल्य अनुसार सरकारले खरिद गर्नु पर्दा पर्याप्त बजेट नछुट्याएको उनकाे भनाइ थियाे । यसैगरी खरिद गरिएकाे उत्पादनलाई भण्डारणको व्यवस्थाका लागि सरकारले कुनै योजना अघि नसारेको उनले बताए ।

साथै उनले सरकारले कोभिडले थला परेको पर्यटन व्यवसायलाई समेत खासै नविनतम योजना दिन नसकेको गुनासो गरे । उनले भने, ‘पर्यटनमा कोभिड पछि धेरै सम्भावना छ, तर पर्यटनलाई समेट्ने कुनै खास योजना देखिँदैन, केवल १० लाख पर्यटकको टाउको गन्ने मात्र कुरा छ ।’

यस बर्षको बजेट पनि पहिलाको  बजेट जस्तो कस्मेटिक मात्र भएको र यस्तो बिषम परिस्थितिमा ल्याइने बजेटले कम्तिमा आत्मनिर्भरमुखि अर्थतन्त्र वा प्रतिस्थापन गर्ने बजेट आउनु पर्ने अपेक्षाा गरिएकाे उनले बताए ।