शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ : केशव स्थापित

शुक्रबार, जेष्ठ १३ २०७९

काठमाडौं । काठमाडौँ महानगरपालिकामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेर पराजय भएका केशव स्थापितले पार्टी तथा मतदाता प्रति आभार व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालका माध्यमबाट उनले धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन् ‘मुलुकको संघीय राजधानीमा अवस्थित ‘काठमाडौँ महानगरपालिका’ मा नेकपा एमालेको तर्फबाट म मेयर पदको उम्मेदवार बनेको तपाईँहरु सबैलाई विदितै छ । सबै भन्दा पहिला मलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा (एमाले) प्रति आभार व्यक्त गर्न चाहन्छु।’

साथै उनले आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएको बताउँदै लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताएका छन् ।

‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’ भनेका छन् ।

उनले भनेका छन्–‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन।’

साथै स्थापितले निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई शुभकामना व्यक्त गरेका छन् ।

‘काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।’

उनले ‘पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका/ रहेका कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु ।’ भनेका छन् ।

उनले लोकप्रिय मतसहित उपमेयर पदमा विजयी भएकी सुनिता डंगोललाई पनि  शुभकामना व्यक्त गरेका छन्। साथै उनले ‘तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु ।’ भनेका छन् ।

स्थापितले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गरेकाअध्यक्ष र विभिन्न वडाबाट विजयी भएका सदस्यहरु सबैलाई शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह समेत गरेका छन् ।

उनले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई पनि शासक होइन सेवक भएर काम गर्न आग्रह गरेका छन् ।

स्थापितले आफूलाई विश्वास गरेर मतदान गर्नुहुने मतदाता, महानरवासी,  उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा खटिएका पार्टीको विभिन्न तह–तप्कामा रहेका कमरेडहरु, सुभेच्छुक, स्वयंसेवक, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी सबैलाई  कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि साथमा रहने विश्वास व्यक्त गरेका छन् ।