काठमाडौं – नेपाल राष्ट्र बैंकले ऋण तिर्न सक्ने क्षमताका आधारमा आयमुलक क्षेत्रको लागि २० लाख रुपैैयाँसम्म कर्जा उपलब्ध गराउन बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । आज बिहिबार बैंक तथा फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
उत्पादनलाई बृद्धि गर्ने उद्धेश्य अनुरुप राष्ट्र बैंकले ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा आयमुलक क्षेत्रमा २० लाख रुपैंयाँ कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयमा ल्याएको हो । यो निर्देशन अनुसार व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा बढीमा २० लाखसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्ने छन् ।
यसैगरी इजाजतपत्रप्राप्त संस्थाले एक करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था गरेको छ । २० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने परिपत्रमा उल्लेख छ ।
यसैगरी विद्युत् आयोजना निर्माण गरी विद्युत् निर्यात गर्न शुरु गरेका परियोजनामा प्रवाहित कर्जालाई निर्यात शुरु गरेको पाँच वर्षसम्म र जलाशययुक्त जलविद्युत आयोजनामा प्रवाहित कर्जालाई कर्जा अवधिभर आधारदरमा एक प्रतिशत विन्दुसम्म मात्र थप गरी कर्जा प्रदान गर्नु पर्नेछ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा कर्जा उपलब्ध गराउनु पर्नेछ । महामारीजन्य रोगको उपचारको लागि नेपाल सरकारबाट मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायीक योजना मूल्यांकन गरी आधार दरमा कर्जा उपलब्ध गराउनु पर्ने परिपत्रमा उल्लेख छ । अस्पताल नभएका स्थानीयतहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा अधिकतम दुई प्रतिशत विन्दु सम्म प्रिमियम थप गरी रु. २० करोड सम्म कर्जा प्रवाह गर्न सक्नेछन् ।
राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादनका लागि वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम दुई प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ । यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने भएका कर्जामा लागु हुने छैन ।