शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सेन्ट लरेन्सका शिक्षकविरुद्ध ३ जनाले दिए किटानी जाहेरी, २ शिक्षक पक्राउ

बुधबार, जेष्ठ ११ २०७९

काठमाडौँ – सेन्ट लरेन्स कलेजका दुई शिक्षकहरुले यौन दुराचार गरेको भन्दै तीन जना विद्यार्थीले प्रहरीमा जाहेरी दर्ता गराएका छन्।

यौन दुराचार गरेको भन्दै काठमाडौँ चाबहिलको सेन्ट लरेन्स कलेजका जनार्दन अधिकारी र राजनकुमार पौडेल विरुद्ध विद्यार्थीहरुले जाहेरी दिएको प्रहरी वृत्त गौशालाका एसपी केशव भट्टराईले बताएका छन्।

उनीहरूले बोलेर र छोएर यौन दुराचार गरेको भन्दै कलेजका तीन विद्यार्थीले प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता गराएका हुन्। जाहेरी परेसँगै प्रहरीले दुवै शिक्षकलाई हिरासतमा राखेको छ। उनीहरुविरुद्ध प्रहरीले यौन दुराचार मुद्दामा अनुसन्धान सुरु गरेको छ।

कलेजकी एक छात्रालाई अधिकारीले कलेजको क्यान्टिनमा बोलाएर दुर्व्यवहार गरेसँगै उनले फेसबुक मेसेन्जरमार्फत समेत यौन सम्बन्ध राख्ने प्रस्ताव राखेपछि बालिकाले यसबारे कलेज व्यवस्थापकलाई जानकारी गराएकी थिइन्।

तर व्यवस्थापकले दोषीमाथि कारबाहीको साटो आन्तरिक रूपमै कुरा मिलाउन खोजेपछि सो घटना बाहिर आएको हो। घटना बाहिर आएसँगै विद्यार्थीहरुले आन्दोलन सुरु गरेका थिए।

विद्यार्थीहरूले कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशालाबाहिर विरोध प्रदर्शन गरेपछि प्रहरीले व्यवस्थापक र प्रधानाध्यापकलाई समेत नियन्त्रणमा लिएको थियो।

जाहेरी दिने तीनै विद्यार्थीको उमेर १८ वर्षभन्दा कम रहेकाले प्रहरीले उनीहरूमाथि बाल यौन दुराचारको आरोपमा अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।