काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले जितेको छ ।
थापाले गत २०७४ सालको संसदीय निर्वाचन यहिबाट जितेका हुन् ।
कांग्रेस महामन्त्री समेत रहेका थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडामा कांग्रेस पराजीत भएको छ । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले नै विजयी भएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर विजयी हुादा काँग्रेसका उम्मेदवार उत्तम खड्का ४७३ मतमात्र ल्याइ पराजय भए । वडानम्बर २ एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले निर्वाचित हुँदा काँग्रेस उम्मेदवार जनक थापा १०८३ मतमा चित्त बुझाउनु पर्यो । यस्तै वडानम्बर ८ मा सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए ।
वडानम्बर ८ मा एमालेका तामाङले १५२२ मत ल्याउँदा काँग्रेस वडाध्यक्षका उम्मेदवार राजाराम थापाले १०६८ मत मात्रै पाए। ९ नम्बरमा एमालेकी त्रिपाठी ९४८ मतसहित विजयी हुँदा काँग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत मात्र पाए । १० नम्बर वडामा एमालेकै नवराज भट्टराईले २५८१ मत सहित विजयी बन्दा काँग्रेसका डोरप्रसाद आचार्यले १३११ मत मात्रै पाए । ११ नम्बर वडामा एमालेका राजु अधिकारी १२९३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेस उम्मेदवार राधेश्याम कार्कीले १२५५ मत पाएका छन् ।
१२ नम्बर वडामा शम्भु भट्टराई १३७९ मत ल्याएर विजयी हुँदा काँग्रेसका सुनित चालिसेले ११४२ मत ल्याउँदै पराजित हुनु पर्यो भने १३ वडामा टीकानारायण श्रेष्ठले १६८७ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसका भरत श्रेष्ठले १४७३ मत मात्र पाएर चित्त बुझाउनु परेको छ ।
बूढानीलकण्ठका ८ वटै वडा बाहेक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौँ महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १ पनि एमालेले नै जितेको छ ।
२०७४ को संसदीय निर्वाचनमा काँग्रेसका थापा र एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला थापाले २१ हजार ५५८ मतसहित निर्वाचित भएका थिए भने एमालेका राजन भट्टराईले १८ हजार १४० मत पाएर पराजय बेहोरेका थिए ।