काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेपनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् ।
मंगलवार पार्टीको केन्द्रिय कार्यालय बल्खुमा आयोजित २९औँ मदन–आश्रित स्मृति दिवसमा पोखरेलले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधरह एकजुट हुन आवश्यक रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यतिबेला तत्कालीन राजनीतिमा देखा परेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ । हामी संख्याको हिसावले केही तलवितल हुनसक्ला तर जनमतको हिसावले माथि नै छौँ ।’
यसैगरी कार्यक्रमा महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए ।
उनले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरुलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए । उनले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणनापूर्व नै मतपेटिका खोलेको पाइएको पनि आरोप लगाए । महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गरे ।
उनले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, सांघातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाए ।
महासचिव पोखरेलले सत्ता गठबन्धनले एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताए । उनले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताए ।
पोखरेलले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरुमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग समेत गरे ।