स्याङ्जा । आँधीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।
एमालेबाट अध्यक्षका उम्मेदवार बनेका विश्व पौडेल ५,१७७ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसले प्रेमराज पौडेलले ४,३५१ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार हरि प्रसाद ढकालले ७२१ मत प्राप्त गरेका छन् ।
विश्व पौडेल नेकपा एमाले स्याङ्जाका उपमहासचिव समेत हुन् ।
उपाध्यक्षमा पनि एमालेले जित हात पारेको छ । एमालेकी उम्मेदवार सीता थापाले ५,२७३ मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामचन्द्र पौडेलले ३,८१७ मत प्राप्त गरेका छन् ।
त्यसै गरी वडाध्यक्षमा वडा नं १ मा नेकपा एमालेका पवनकाजी अधिकारी र वडा नं २ मा एमालेकै कमल पौडेलले विजय हासिल गरेका छन् । ३ मा नेपाली कांग्रेसका शेरबहादुर कार्कीले जित हासिल गरेका छन् भने वडा नं ४ मा एमालेका सिंहबहादुर कार्की र ५ मा पनि एमालेकै कृष्णप्रसाद पनेरु विजयी भएका छन् । वडा नं ६ मा नेपाली काङ्ग्रेसका नविन ढकालले सम्पूर्ण प्यानलसहित जित हासिल गरेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा ३२ मा ३२ नै पदमा एमालेले जितेको आँधीखोला गाउँपालिकामा यसपालि भने दुई वडाध्यक्षसहित ११ पदमा कांग्रेसले विजय हासिल गरेको छ ।