शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

म्याग्दीका १५ वडाको गणना सकिँदा एमालेलाई अग्रता

आइतबार, जेष्ठ १ २०७९

म्याग्दी । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

आइतबार बिहानसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ । नेपाली कांग्रेसले ५ र  माओवादी केन्द्रले २ वटा वडा जितेका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।

मालिका गाउँपालिका–१ मा कांग्रेसका टंकप्रसाद पुनले ४६२ मत, वडा नम्बर २ मा एमालेका उदयकुमार बुढाथोकीले ७५१ र वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढाले ३४५ मत ल्याएर विजयी भए ।

अन्नपूर्ण गाउँपालिका–१ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजाले ३३२ र वडा नम्बर २ मा सोही पार्टीका ओमप्रकाश फगामीले ३२९ मत ल्याएर निर्वाचित भएका छन् ।

पश्चिम म्याग्दीको मालिका–४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन वडा अध्यक्षमा निर्वाचित भए । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी विजयी भए । मंगला गाउँपालिका–१ मा एमालेका एकजित रोका र २ मा पनि एमालेका धनबहादुर खाती क्षेत्री विजयी भए ।

धौलागिरि गाउँपालिका–२ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भए् । ६ वटै स्थानीय तहको मतगणना जारी छ । बेनीको मेयरमा एमाले, उपमेयरमा माओवादी, मंगला र अन्नपूर्णमा एमाले, मालिका, धौलागिरि र रघुगंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।