काठमाडौं । नेपाली कांग्रेसले चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई निलम्बन गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन बाहिर रहेर काम गरेको भन्दै कांग्रेसले उनीसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीद्वारा आज जारी गरिएको विज्ञप्तिमा भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालविरुद्ध कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएसँगै कांग्रेसले चितवनका आफ्ना नेता कार्यकर्तालाई कारवाही अघि बढाएको छ । यसअघि पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि निष्कासन गरेको थियो ।
