शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रचण्डको प्रश्न: माओवादीलाई मात्रै गठबन्धन चाहिएको भन्न मिल्छ र ?

बुधबार, बैशाख २१ २०७९

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  माओवादीलाई मात्रै गठबन्धन चाहिएको भन्न मिल्छ ? भनि प्रश्न गरेका छन् l 

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नेकपा एमाले पनि एक्लै लड्न हिम्मत नगरेको भन्दै अहिले माओवादीलाई मात्रै गठबन्धन भन्नु नमिल्दो विषय भएको बताए । ‘अहिले हाम्रो गठबन्धन छ, एमालेले शुरुमा हामी एक्लै लड्छौं भन्थ्यो अहिले ९ वटा समूह जम्मा गरेर आयो । एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । कांग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ’, प्रचण्डले भने ।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षको हैसियतले म के ठान्छु भने यो समग्र प्रक्रियाको नेतृत्वमा म छु भनेरै मैले महसुस गर्छु । यो गठबन्धन बचाउनको निम्ति रात दिन मैले खटेर काम गरेको तपाईंहरुले देख्नु भएकै छ । गठबन्धनलाई शुरुदेखि नै तोड्ने अनेक षड्यन्त्रहरु भए । यसलाई बचाउनको लागि पनि माओवादी केन्द्रले नै मुख्य भूमिका खेलेको कुरा आम नेपाली जनतालाई थाहा भइसकेको छ । राजनीतिज्ञलाई पनि थाहा छ । पार्टीहरुलाई पनि थाहा छ । तर भन्न चाहने र नचाहने मात्रै कुरा हो । वस्तुतः माओवादी केन्द्रले नै अहिले पनि राजनीतिक एजेन्डाको, गठबन्धनको, सरकारको, यी सबै प्रक्रियाको पनि नेतृत्वदायी भूमिका खेलिरहेको छ ।’