काठमाडौँ l सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।
वैशाख १९ गतेदेखि सशस्त्र महानिरीक्षक पुष्पराम केसी र एआईजी रामशरण पौडेलले ३० वर्षे सेवाहदको कारण अवकाश पाउँदै छन् । त्यसपछि अर्का एआईजी राजु अर्याल त्यसपछि महानिरीक्षक पदमा बढुवा हुनेछन् । त्यसैले सशस्त्रको दुईओटा एआईजी पद रिक्त हुन लागेको हो ।
महानिरीक्षक केसीले जारी गरेको सूचनामा साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
महानिरीक्षक भएपछि अर्यालले चार वर्षसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् । अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए ।
अर्याल चार वर्ष आईजीपी भए पनि ३० वर्षे अवधिका कारण पौडेल अझै संगठनमा रहनेछन् र त्यसपछि पनि थप दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।
गौतम चाहिँ नेपाली सेनाको क्याप्टेनबाट ३ वैशाख २०५२ मा सेवा प्रवेश गरेका अधिकृत हुन् । दाहाल पनि एआईजीको प्रमुख दाबेदार हुन् ।