काठमाडौँ l प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका छन् ।
प्रधानसेनापति शर्माले आसन्न निर्वाचनमा परिचालित हुन मातहत निकायका सैनिक अधिकृतलाई निर्देशन दिएका हुन् ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उचित ढंगले वहन तथा कार्यान्वयन गर्नका लागि प्रधानसेनापति शर्माले आइतवार निर्देशन दिएका हुन्।
आइतबार सेनाका विभागीय प्रमुखहरूको उपस्थितिमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रहरूको सुरक्षास्थिति मूल्यांकन गर्न, जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवम् स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरूसँग समन्वय गरी सुरक्षार्थ खट्न उनले निर्देशन दिएका छन् ।
यस्तै बम डिस्पोजल टोलीलाई आवश्यकता अनुसार तयारी हालतमा राख्न, सरकारको कार्यादेशबमोजिम परिचालित हुन सेनापति शर्माले आग्रह गरे। यसका साथै सेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेनासम्बन्धी बुँदाहरूलाई अक्षरस पालना गर्नसमेत सेनाका जिम्मेवार निकायलाई निर्देशन दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस अघि नै राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारको निर्णय अनुसार स्थानीय तहको लागि सेना परिचालनको लागि स्वीकृत दिइसकेकी छन् ।