शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सहज बन्दै आँखाको नानी प्रत्यारोपण

मंगलबार, चैत्र २२ २०७८

काठमाडौँ। ११ वर्षको उमेरमा विद्यालय जान सुरु गरेका स्याङ्जाका सविन बोगटी अहिले स्नातक पढ्दै छन् । सानैदेखि कर्नियाको समस्याका कारण दृष्टि गुमाएका उनी १० वर्षको उमेरमा आँखा प्रत्यारोपण गरेपछि मात्रै विद्यालय जान सुरु गरेका थिए । आँखा नदेख्ने समस्याका कारण समयमा विद्यालय जान नपाएका बोगटीले दान गरिएको कर्निया प्रत्यारोपणबाट दृष्टि पाएका हुन् ।

बच्चैदेखि दृष्टि गुमाएका बोगटीको तीन वर्ष लगातार अस्पताल बसाइपछि आँखा प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका लागि कर्निया पाइए पनि चिकित्सकहरूले शल्यक्रियापछि सफल हुने सम्भावना न्यून रहेको बताएका थिए । तर, शल्यक्रियापछि उनको आँखामा कुनै समस्या देखिएन ।

आँखा नदेख्ने समस्याका कारण खाना खान, हिँड्न, बस्न परिवारका सदस्यको सहयोग लिनुपर्ने भएकाले बाल्यकाल सजिलो थिएन । परिवारका सदस्यले माया गर्ने भए पनि बाहिर सबैले हेला गर्ने गरेको सुनाउँछन् बोगटी । उनी भन्छन्, ‘मलाई साथीले रङहरूको कुरा गर्दा अनौठो लाग्थ्यो । त्यतिवेला आँखा नपाएको भए जिन्दगी कस्तो हुन्थ्यो अनुमान पनि गर्न सक्दिनँ ।’

दुवै आँखामा जन्मजात समस्या, भिटामिन ए डिफिएन्सी, चोटपटक र संक्रमणजस्ता विभिन्न कारणबाट दृष्टिमा हुने समस्याका लागि कर्निया प्रत्यारोपण मुख्य समाधान बन्न थालेको छ । ‘नेपाल आँखा बैंक’का अनुसार बर्सेनि पाँच सयदेखि १३ सयभन्दा बढी आँखाको नानी प्रत्यारोपण हुने गरेका छन् ।

सामान्यतया व्यक्तिको मृत्यु भएपछि १४ घन्टाको अवधिसम्म प्रत्यारोपण गर्न मिल्ने भएकाले कर्निया प्रत्यारोपण अन्य अंग प्रत्यारोपणको तुलनामा सहज बन्दै गएको आँखा विशेषज्ञहरू बताउँछन् । कर्नियामा रक्तसञ्चार नहुने, जुनसुकै उमेर समूह र स्वस्थ अवस्था भएको व्यक्तिबाट लिइएको कर्निया अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने भएकाले समेत प्रत्यारोपणको संख्या धेरै रहेको तिलगंगा आँखा अस्पतालकी प्रत्यारोपण विशेषज्ञ डा. लिना बज्राचार्य बताउँछिन् ।

नेपालमा आँखा प्रत्यारोपणले छोटो समयमै ठ्लो फड्को मारेको छ

०५१ देखि नेपालमा सुरु भएको आँखा प्रत्यारोपणले छोटो समयमै ठ्लो फड्को मारेको छ । पहिलोपटक ३ मंसिर ०५१ मा काठमाडौं ढोकाटोलकी चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै कर्निया प्रत्यारोपण थालिएको थियो ।

त्यसयता हालसम्म ११ हजार नौ सय ७८ जनाले आँखाको नानी (कर्निया) दान गरिसकेका छन् । नेपाल आँखा बैंकका अनुसार सुरुवाती वर्षमा दुई वटा आँखाको नानी मात्र दान गरिएको थियो । त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा आँखाको कर्निया दान गरिएको थियो । एक वर्षमा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए । तर, कोभिड महामारीको सुरुसँगै आँखा बैंकमा कर्निया संकलन र प्रत्यारोपण दुवैमा कमी आएको छ । सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएका थिए । २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको आँखा बैंकको तथ्यांक छ ।

हाल देशभर तिलगंगा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका १० वटा आँखा अस्पतालले आँखाको प्रत्यारोपण गर्दै आएका छन् । पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने संस्कृति बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन् । आँखारोग विशेषज्ञ डा. रीता गुरुङ भन्छिन्, ‘सुरुवातमा आँखाको नानी दान गर्नेको संख्या निकै कम थियो, बिस्तारै आँखा दान गर्नेको संख्या बढ्दै गइरहेकाले प्रत्यारोपणका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था घट्दै गएको छ ।’

प्रत्यारोपण फेल हुने दर न्यून

कर्नियामा हुने समस्या अन्धोपन (मोतियाबिन्दु)पछिको मुख्य कारणमध्येमा पर्ने गर्छ । डा. बज्राचार्यका अनुसार नेपालमा कर्निया प्रत्यारोपण ५२ देखि ९३ प्रतिशतसम्म सफल भएको देखिन्छ । उनका अनुसार अंग लिने व्यक्तिको स्वास्थ्य अवस्थाका आधारमा प्रत्यारोपणपछि जुनसुकै समयमा पनि ‘रिजेक्सन’ हुने सम्भावना रहन्छन् ।

‘प्रत्यारोपण गरेको दशौँ वर्षपछि पनि तन्तुहरूको रियाक्सनका कारण रिजेक्सनको सम्भावना रहन्छ । यसका लागि शल्यक्रिया गरेको एक वर्षको अवधिमा एक-एक महिना र बिस्तारै दुईदेखि ६ महिनाको अन्तरालमा आँखाको नियमित परीक्षण गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन् ।

प्रत्यारोपणपछि स्टेरोइड औषधि प्रयोगमा ल्याइने गरिन्छ, जसले शरीरको प्रतिरोधी क्षमता कम गर्ने भएकाले संक्रमणको प्रबल सम्भावना रहने डा. गुरुङ बताउँछिन् । ‘शल्यक्रियाको क्रममा लगाइएका टाँकाहरू खोल्न एक वर्षसम्म लाग्ने भएकाले उपचारको प्रक्रिया लामो हुँदा सँगै जोखिम पनि रहने भएकाले प्रत्यारोपण सबै व्यक्तिमा सफल हुन्छ भन्ने हुँदैन । तसर्थ बिरामी सधैँ उपचारका लागि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकमा खबर छ।