काठमाडौं। स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको तालमेल गर्ने नेपाली कांग्रेसको निर्णयसँगै चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा उठाउने तयारी गरेको छ।
अघिल्लो पटक पनि कांग्रेसको सहयोगमा मेयर पदमा जित निकालेकी रेणुलाई विकासको मुद्दासाथ फेरि उठाउने माओवादी तयारी भए पनि चितवन कांग्रेस भने पक्षमा नउभिने भएको छ। कांग्रेसको ठूलो मत रहेको उक्त महानगरमा त्यस्तो निर्णय भए विद्रोह हुने पनि बताइएको छ।
गठबन्धनका नाममा जुन प्रकारको निर्णय भएको छ त्यसले कांग्रेसलाई मत माग्न पनि कठिन भएको नेता डा. शेखर कोइरालाले बताएका छन्। उनले भनेका छन्,‘माओवादीको ठाउँमा हामी कांग्रेसको अभियान नै प्रभावित हुने अवस्था छ। अब के घर–घर जाऔं माओवादीलाई जिताऔं भन्नु त?’
चितवन कांग्रेसका नेताहरूले संयुक्त रुपमा नै माओवादीलाई सहयोग गर्न नसकिने सभापति शेरबहादुर देउवालाई अपिल गर्ने भएका छन्। अघिल्लो पटक रेणुलाई सहयोग गरेका कारणले प्रतिनिधि र प्रदेश सभामा कांग्रेसको हार भएको पनि ठहर गरिएको थियो।
कतिपयले भने कांग्रेसका मतदाता र कार्यकर्ताको भावनाविपरित गठबन्धन गर्ने निर्णयले अन्तरघात हुन सक्ने पनि प्रक्षेपण गरेका छन्। कांग्रेसले औपचारिक निर्णय गर्नुअघि अर्को चुनाव चिन्हमा मत हाल्न नसकिने बताउँदै आएका थिए।
कांग्रेस महामन्त्री गगन थापाले नै अर्को चुनाव चिन्हमा मत हाल्न नसकिने भन्दै गठबन्धनको विरोध गरेका थिए। तर, केन्द्रीय समितिमा बहुमत रहेका देउवाले गठबन्धनको निर्णय गराए। ‘सबैको भावनाअनुसार निर्णय नगरेका कारणले चुनावमा कांग्रेसले गठबन्धनमा अन्तरघात गर्न सक्छ’, उच्च स्रोतले भन्यो,‘कांग्रेसभन्दा बाहेकका चुनाव चिन्हमा मत नजान पनि सक्छ।’
महाधिवेशनका बेला देउवाले कतिपय नेतालाई चुनावमा टिकट दिने आश्वासन दिएका थिए। तर गठबन्धन गर्ने भएपछि आश्वासनअनुसार काम नहुने भएकाले आन्तरिक संघर्ष पनि चर्किने अनुमान गरिएको छ। उच्च स्रोतले भन्यो,‘यहि कुराले पनि गठबन्धनमा धक्का लाग्न सक्छ।’
पहिलो धक्का नै चितवनको भरतपुरबाट लगाउँदै प्रतिनिधि र प्रदेश सभा चुनावमा समीकरण नै अलग बनाउनेगरी परिणाम दिने तयारी भएको कांग्रेसका एक नेताले बताए। स्थानीय तहमा माओवादी र नेकपा एकीकृत समाजवादीलाई नजिताउने आन्तरिक काम भयो भने अर्को चुनावमा कांग्रेस एक्लै मैदानमा उत्रिन सक्छ। ‘अहिले एमाले विभाजित भएको बेलामा कांग्रेस एक्लै मैदानमा जानुपर्ने थियो तर सत्तामा पु¥याएको र प्रधानमन्त्री बनाएको नाममा गुण तिर्ने भनी पार्टीलाई ध्वस्त बनाउने कामको नतिजा त आउँछ’, स्रोतले भन्यो।
यसैबीच चितवन कांग्रेसले मेयर नपाएको खण्डमा गठबन्धन नगर्ने औपचारिक निर्णय समेत गरेको छ। उसले केन्द्रको दबाब नमान्ने पनि स्पष्ट निर्णय गरेको छ। मेयर माओवादीलाई जिम्मा लगाउन नसकिने जिल्ला कार्य समितिको औपचारिक निर्णय भएको हो।