काठमाडौं। सीमा समस्या समाधानका निम्ति छलफल गर्नुबाहेक प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा कुटनीतिक मर्यादालाई लोप्पा खुवाएका छन्। तीन दिने भ्रमण सकी आइतबार स्वदेश फर्किएका देउवाको सबैभन्दा ठूलो भूल प्रधानमन्त्री पदको सीमा मिच्दै भारतीय जनता पार्टीको मुख्यालय छिर्नु थियो। अर्कोचाहिँ समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ताका क्रममा टिपोटकार नराख्नु समेत रहेको बताइन्छ।
चार मन्त्रीसहित ५२ जनाको जम्बो टोली लिएर भारत भ्रमणमा पुगेका देउवाले प्रधानमन्त्री पदको अपमान हुनेगरी भाजपा मुख्यालयमा पाइला टेकेका थिए। गठबन्धन सरकारको नेतृत्व गरेका कारण पनि सबै दलबाट सरकारमा सहभागी मन्त्रीलाई प्रतिनिधित्व गराउनु देउवाको बाध्यता भएको कतिपयले बताएका छन्। देउवाको कुटनीतिक मामलामा परराष्ट्रमन्त्री डा. नारायण खड्का भन्दा पनि प्रथम महिलासमेत रहेकी पत्नी आरजु राणाको हस्तक्षेप रहेको बताइन्छ। देउवाको भ्रमणपूर्व राणा केही महिनाअघि आफैं भारत पुगेर तयारी मात्र गरेकी थिइनन्, नेपाल आएका भारतीय जनता पार्टीका प्रवक्ता विजय चौथाइवालेलाई रक्षा बन्धन गरेकी थिइन्।
‘हामी सार्वभौम मुलुकको कुरा गर्छौं, स्वभाविक रुपमा हाम्रा सांस्कृतिकलगायतका सम्बन्ध भए पनि मुलुकका हिसाबमा देउवा सरकारले गरेका हर्कतचाहिँ स्वीकारयोग्य छैनन्’, उच्च स्रोतले भन्यो,‘नेपालमा बहुमतको सरकार गुमाएपछि भारतले देखाउने व्यवाहार यस्तै नै हुन्छ।’
नेकपाको सरकार विभाजन, पार्टी विभाजनसँगै भारतीय पक्षले अस्थिरतामा खेल्ने अवसर पाएको थियो। प्रतिनिधि सभाबाट चुच्चे नक्शा पास गरेपछि नेकपाको यात्रालाई असहज बनाउन परोक्ष रुपमा भारतीय पक्षले खेलेको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नगर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुला आह्वान नै गरेका थिए। उनले भारतका लागि ‘कम्फर्टेबल’ सरकार गठबन्धन नै हुने पनि बताएका थिए। जसको तिव्र आलोचना भएको थियो।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘भारतीय जनता पार्टी त्यहाँको सत्तारूढ पार्टी हो। उहाँहरूले हामीलाई निम्तो गर्नुभयो। त्यहाँ जाँदा केही बिग्रँदैन।’
यसअघि नेपाली कांग्रेसकै कतिपय नेताहरूले कतिपय वामपन्थी दलहरूले चिनियाँ कम्युनिस्ट पार्टीसँग अघि बढाएको वैचारिक आदानप्रदानप्रति प्रश्न उठाउने गरेका थिए। शुक्रवार भारतीय विदेशमन्त्री एस जय शङ्करले प्रधानमन्त्री देउवालाई भेटेका थिए।
भारतीय विदेशमन्त्री एस जय शङ्करले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुसी लागेको छ। यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।’
राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलको भ्रमण गरेका प्रधानमन्त्री देउवालाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शनिवार भेटेका थिए।
देउवाको यो भ्रमणलाई ओलीले स्थापित गरेको सार्वभौमिक सवाललाई लम्पसारवादमा परिणत गरेको एमालेका नेताहरूको बुझाई छ। भारतको परोक्ष उपनिवेशका रुपमा नेपाललाई स्थापित गर्ने कोशिश गलत हुने पनि टिप्पणी गरिएको छ।