काठमाडौँ l आगामी ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको नेपाली सेनाको एक गोप्य रिपोर्टले खुलासा गरेको छ ।
विदेशी गतिविधिमाथि निगरानी गर्न स्थापित चरक बाहिनीले तयार पारेको रिपोर्टमा यस्तो तथ्य खुलासा गरिएको हो । बाहिनीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त रिपोर्ट बुझाइसकेको सञ्चारमाध्यम जनआस्थाले समाचार लेखेको छ ।
कांग्रेस र एमालेको संगठन राम्रो भएको भन्दै यी दुवैबीच प्रतिस्पर्धा हुने रिपोर्टमा उल्लेख गरिएको हो ।
चरक बाहिनी सेनाको डिपार्टमेन्ट अफ मिलिटरी इन्टिलेजिन्स (डीएमआई)अन्तर्गत रहेको प्रतिजाजुसी संगठन हो, जसको स्थापना यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका थिए । यो बाहिनीका प्रमुख सहायक रथी सुनिल श्रेष्ठ छन् ।
यसपटकको स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगको आकलन छ । आयोगले हाल मतदाता नामावली अद्यावधिक गरिरहेको छ । यसअघिको स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख मतदाता थिए ।
यसअघिको स्थानीय तहको निर्वाचन भने तीन चरणमा गरिएको थियो । निर्वाचन आयोगका अनुसार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब खर्च हुने आकलन गरिएको छ । गृह उच्च स्रोतका अनुसार निर्वाचनको सुरक्षा खर्चका लागि गृह मन्त्रालयले करिब १७ अर्ब रुपैयाँ माग गरेको छ ।