शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल प्रहरीः आईजीको मैदानमा चार ब्याची, कसले मार्ला बाजी?

बुधबार, चैत्र २ २०७८

काठमाडौं । नेपाल प्रहरी महानिरिक्षक (आईजी)को मैदानमा चार जना ब्याचीको प्रतिस्पर्धा हुने निश्चित भएको छ। आईजी शैलेश थापा क्षत्री ३० बर्षे कार्यकाल सकेर आगामी १८ वैशाखमा सेवा निवृत्त हुनासाथ नेपाल प्रहरीको नेतृत्व सरकारले तय गर्नेछ।

हालै मात्र गृह मन्त्रालयको बढुवा समितिले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा प्रहरी नायव महानिरिक्षक (डीआईजी) बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई सिफारिस गरेपछि आईजी प्रतिस्पर्धाको मैदानमा चार जना ब्याची स्पष्ट देखिएका छन्।

यसअघि नै विश्वराज पोखरेल र सहकुल थापा एआईजी भइसकेका छन्। उनीहरू आईजीका प्रतिस्पर्धी हुँदा ब्याची सिंह र धानुक पनि मैदानमा पुगेका हुन्।

पन्त भने आईजी थापाको ब्याची रहेका कारण १८ वैशाखमा नै सेवा निवृत्त हुनेछन्।

‘आईजी प्रतिस्पर्धा रोचक हुने देखिन्छ’, एक उच्च अधिकारी भन्छन्,‘शेरबहादुर देउवाको सरकारमा जसको पहुँच बलियो छ त्यहि नै नियुक्त हुने सम्भावना देखियो।’

ति उच्च अधिकारीले यसअघि देउवा सहभागी सरकारमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा जयबहादुर चन्दलाई आईजीमा नियुक्त गरेको कसीमा यस्तो बताएका हुन्। सर्वोच्च अदालतले चन्दलाई आईजी हुन कार्य सम्पादन र मुल्यांकनको आधार कमजोर रहेको भनी रोकेको थियो। त्यसबेला डीआईजी तथा हाल नेकपा एमालेका सांसद नवराज सिलवाल पहिलो नम्बरमा थिए।

अहिले बरिष्ठतालाई आधार मान्ने हो भने एआईजी पोखरेललाई आईजीमा नियुक्त गर्नुपर्छ। ब्याची नै भए पनि अन्य तीनभन्दा पोखरेल पहिला नै एआईजी भइसकेका थिए। यसैगरी पोखरेलपछि थापा एआईजीमा नियुक्त भएका थिए।

१८ वैशाखमा अन्य दुई जना एआईजीहरू प्रद्युम्न कार्की र निरजबहादुर शाही पनि सेवा निवृत्त हुनेछन्। आईजीबाहेक नेपाल प्रहरीमा ७ जना एआईजी बनेका छन्। राजनीतिक स्वार्थका हिसाबमा नेपाल प्रहरीमा एआईजीको पद कायम गरिएको टिप्पणी हुँदै आएको छ।

तत्कालिन केपी शर्मा ओलीको पालामा दुई दरबन्दी थपिए भने देउवा सरकारले तीन दरबन्दी थप गरेको छ। जबकि, प्रहरी ऐनमा तीन जना मात्र एआईजी दरबन्दी कायम गर्ने छरितो व्यवस्था थियो।