काठमाडौँ l २०७८ चैत्र २९ गते अर्धसैनिक सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको पदावधि सकिदैछ । उनी संगठनबाट विदा भएर घर जान लागेसँगै नयाँ महानिरीक्षको लागि दौडधुप शुरु भएको छ । संगठनमा नयाँ महानिरीक्षक आउने र जाने निरन्तर चलिरहेने प्रक्रिया हो । तर, यसपटक भने २१ दिने आइजीपी र त्यसपछि एआइजीपीमा बढुवा हुन चाहने डीआइजीपीहरुको सन्दर्भमा भने सत्तारुढ दल नेपाली काँग्रेसभित्र नै हानथाप हुन थालेको खबर छ ।
नयाँ एआइजीपीको लागि काँग्रेसका नेताहरुले अलि बढी नै राजनीतिक चलखेल गरेको कारण संगठनभित्र ठूला प्रहरीका हाकिमका बिच अस्वस्थ प्रतिस्पर्धा चलेको समाचार बाहिर आएको छ ।आइजीपी खनाल अनिवार्य अवकासबाट घर गएसँगै वर्तमान एआइजीपीद्वय पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना आइजीपीमा बढुवा हुने सम्भावना पनि छन । यी दुई मध्ये जो आइजीपी बने पनि कार्यकाल २३ दिनको मात्र हुने स्रोत जानकारी दिएको छ । यसकारण २१ दिने आइजीपीको लागि भन्दा पनि त्यसपछिको आइजीपी, एआइजीपीको बढुवाका लागि चार जना डीआईजीहरुका बिचमा प्रतिस्पर्धा चल्दै आएको छ । यस अघि सशस्त्र प्रहरी बलमा किशोर लामा १४ दिने आइजीपी भएको इतिहास पनि रहेको छ ।
एपीएफ संगठनको इतिहासमा आइजीप खनालपछि आइजीपीको इतिहास कसले बनाउने भन्नेमा पनि एआइजीपीद्वय केसी र पौडेलको बिचमा तीव्र प्रतिस्पर्धा चलिरहेको बताइन्छ । उनीहरु मध्ये एकजना आइजीपी बनेर र एकजना चाहिं एआइजीप मै २०७९ वैशाख १८ गतेबाट घर जानेछन् । वरिष्ठको आधारमा २१ दिने आइजीपीको अवसर केसीका लागि सम्भावना रहेको छ । त्यसपछि निर्वाचनको मुखमा वरिष्ठ डीआइजीपीहरु तीनैजना एआइजीपी र एकजना आइजीपीमा बढुवा हुने छन् । आइजीपीका लागि वरिष्ठको आधारमा राजु अर्याल अगाडि रहेका छन् । अर्यालले नै आईजीपीमा बढुवाको अवसर पाउने सम्भावना बढी छ ।
एआइजीपीमा चाहिं नाराणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी मिश्रको बिचमा प्रतिस्पर्धा चल्ने भएको छ । हालका डीआइजीत्रय राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम मध्ये दुईजना एआइजीपीसँगै एकजना आइजीपी बन्ने निश्चित प्राय देखिएको स्रोत बताउँछ । उनीहरु दुवैजना एसपी, एसएसपी र डीआइजीसम्म सँगसँगै बढुवा भएर आएका अधिकृतहरु हुन् । आइजीपीमा राजु अर्यालको तीन वर्षे कार्यकाल पूरा भएपछि वरिष्ठको आधारमा नारायणदत्त पौडेलले आइजीपी बन्ने अवसर पाउने छन् । एआईजीपीहरुको कार्यकाल चार वर्ष प्लस एक वर्ष र ३० वर्षे सेवा अवधि गणना हुने भएकाले सामान्य अवस्थामा पौडेलले आईजीपी बन्ने अवसर पाउने छन् भने सीपी गौतम भने ३० वर्षे सेवा अवधिका कारण बीचमै अवकास हुनेछन् ।
भावी आईजीपी अर्याललाई नेता प्रकाशमान सिंहको साथ र सहयोग रहेको चर्चा छ भने पौडेललाई उपसभापति पूर्णबहादुर खड्काको आशीर्वाद रहेको स्रोत बताउछ । गौतमको भने शक्ति केन्द्र नरहेको भएपनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकोमा धाउने गरेको चर्चा छ । उच्च नेतृत्वमा पुग्नका लागि प्रहरी अधिकृतहरु राजनीतिक दलका नेताहरुको दौराको फेर समातेर चलखेलमा लाग्दा संगठन भने दलहरुको भातृ संगठन जस्तो हुने खतरा बढेको सुरक्षाविद्हरुको टिप्पणी रहने गरेको छ ।
२०७९ वैशाख १९ गतेबाट आइजीपी बन्ने लाइनको अग्रपंक्तिमा रहेका डीआइजी अर्याल व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । अर्याल र पौडेल २०७५ सालमा डीआइजीमा बढुवा भएका हुन् । गौतम भने त्यसको ६ महिना पछि र एकवर्ष पछि मिश्र डीआइजीमा बढुवा भएको एपीएफ स्रोत बताउँछ । त्यसकारण गौतम र मिश्रले भने चर्चामा आउनका लागि मात्र आइजीपीको उम्मेदवार हुन खोजेको स्रोत बताउँछ । अर्याल र पौडेल यी दुई मध्ये जो आगामी २०७९ बैशाख १९ गतेबाट आइजीपी बने पनि एउटाले तीन वर्ष र अर्कोले दुईवर्ष संगठन चलाउने छन् । अर्याल र पौडेल नेपाल प्रहरीबाट सशस्त्रमा आएका हुन भने गौतम नेपाली सेनाबाट संगठनमा जोडिएका हुन् । साँघु साप्ताहिकमा खबार छ l