काठमाडौँ l सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तात्कालिक प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने कार्यको मुख्य योजनाकार डा. बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ रहेको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश-१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम रबादलले अनावश्यक दबाब दिएको बताएका हुन् ।
यस्तै उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी पनि गरेका छन्। तर, उनले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे भने खुलाएनन् ।
विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नै पर्ने उनले बताए । ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’
माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोशिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए । ‘निर्वाचनको ब्याटललाई सामान्य रुपमा नलिनु होला’, उनले भने । प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको पनि उल्लेख गरे ।
प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे । ‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन । गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले थपे, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । अहिले फर्केर हेर्दा अनौठो लाग्छ ।’