काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादकाबीच अमेरिकी आर्थिक साहयता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पक्षमा मतदान नगर्ने पूर्व एकता केन्द्रका नेतालाई पार्टीबाट निस्किएर गए हुन्छ भनेपछि कचिङ्गल बढेको छ।
माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितलाई यस्तो चुनौति दिएपछि उनीहरूको चित्त दुखाई छ भने नयाँ तयारी पनि भएको उच्च स्रोतले जनाएको छ। पदाधिकारी चयन नभएको अवस्थामा पूर्व स्थायी समिति सदस्यको बैठक भनी प्रचण्डले सत्ता नछाड्नका लागि यस्तो दबाबपूर्ण निर्णय गरेको श्रेष्ठलगायतका नेताको बुझाई छ। एमीसीका विरोधमा माओवादीका नेता खुलेरै लागेका थिए।
प्रचण्डले अहिले नारायणकाजीलगायतलाई फकाउनका लागि अनेक प्रयत्न गरेका छन्। उनले केन्द्रीय समितिको पूर्वनिर्धारित बैठकअघि नारायणकाजीसँग दुई पटक भेट गरेका थिए। तर, एमसीसीका पक्षमा उभिएको विषयमा प्रचण्डले कुनै स्पष्टिकरण दिएका छैनन्।
‘माओवादी पार्टीलाई प्रचण्डले प्राइभेट लिमिटेड बनाउन खोजेका छन्। जुन विषयको हामीले बिरोध गरी केपी ओलीसँग विद्रोह गरका थियौं, त्यहि पदचाप कसरी स्वीकार गर्न सकिन्छ’, उच्च स्रोतले भन्यो,‘अरुलाई दिनभरी त्यहि आरोपमा सत्तो श्राप गरी आफू पनि तानाशाह बन्ने प्रवित्तिको समर्थन गर्न सकिन्न।’
सत्ता गठबन्धनसँग प्रचण्डले माओवादी महाधिवेशनको म्यान्डेडलाई नै कुल्चिएर हिँडेको कतिपयको आरोप छ। ‘हामीले दशैंमा सुन्ने कथा जस्तो अवस्थामा छन् प्रचण्ड। जब रक्तपानका लागि पागल भएर हिँडेकी कालीले महाधेवको छाती टेक्छिन्, अहिले प्रचण्ड त्यहि अवस्थामा छन्’, स्रोतले भन्यो,‘हामीले महाधिवेशनमा एमसीसी पारित गर्ने कतै भनेको छैन, एमसीसी पान गरी प्रचण्डले अहिले महाधिवेशनको म्यान्डेडलाई लात्ती हानेका छन्, अब जिब्रो टोकेर केही हुँदैन।’
प्रचण्डले एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा प्रहरीमाथि जाई लाग्न लगाउने काम गलत थियो भन्न नसक्ने अनि एमसीसी पारित पनि गराउने यो दोहोरो चरित्रका विषयमा माओवादीभित्र केन्द्रीय समितिमा व्यापक चर्चा भएको स्रोतले जनाएको छ।
‘कतिपय नेताको नैतिक आवरण नै खत्तम पार्नेगरी उल्टिएर निर्णय गर्नुअघि सल्लाह अनिवार्य हुन्छ कि हुँदैन? त्यो विषयमा प्रचण्ड जानकार थिएनन् र?’, एक नेता प्रश्न गर्छन्,‘माओवादीका तल्ला तहसम्मका नेता जसले एमसीसीको तिव्र विरोध गरेका थिए उनको नैतिकतामा चोट पुग्छ कि पुग्दैन?’