शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पदीय त्राण जोगाउन प्रचण्ड-नेपालले लिएको निर्णय

बुधबार, फाल्गुन १८ २०७८

काठमाडौँ । पछिल्ला दिनमा नेपाली कांग्रेस र नेकपा एमालेको छलफल तिव्र हुन थालेपछि गठबन्धन भत्किएर आउने चुनावमा धुलीसात हुने प्रक्षेपण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पदसँग नैतिकताको सम्झौता गरेका छन्।

माओवादी संसदीय दलको बैठकमा स्वयम् प्रचण्डले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा नउभिँदा नेपाली कांग्रेससँगको गठबन्धन भत्किने र एमाले त्यसमा जोडिँदा सभामुख अग्नी सपाकोटाका साथै माधवकुमार नेपाललगायत १४ सांसदको पद जाने भएपछि व्याख्यात्मक टिप्पणी भनिभएको बताए।

कांग्रेसले एमालेलाई उक्त प्रस्ताव पारित गराउनका लागि गुहारेको थियो। निरन्तर प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सघन छलफल हुन थालेपछि प्रचण्ड–माधव अत्तालिएका थिए। ‘प्रचण्ड शक्ति नभई बस्न नसक्ने मान्छे हुन्, माधवकुमार नेपाललाई त पद नपाएको कुन्ठा मात्रै हुन्छ। यीनले पद र शक्तिका लागि जे पनि गर्छन्’, उच्च स्रोतले भन्यो,‘यीनिहरू देशलाई उन्नत बनाउन होइन आफ्ना स्वार्थ र कुन्ठालाई धरौटी राख्ने रहेछन्।’

एमसीसी टेबल गर्नका लागि प्रधानमन्त्री देउवाले सदनमा लैजाने निर्णय पछि यो विषय गिजोलिएको थियो। यस विषयमा विवाद कायम रहेको र गठबन्धनमा नै सहमति नभएका बेला बीचैमा प्रचण्ड र देउवाले हस्ताक्षर गरी जसरी पनि पारित गराउने भन्ने कबोलनामा जस्तो एमसीसीलाई पठाएको पत्र बाहिरिएपछि झन् विवाद भयो।

यसलाई चिर्नका लागि माओवादीले महाधिवेशनबाट एमसीसी पारित नगर्ने निर्णय लियो भने नेकपा एकीकृत समाजवादी त कुनै हालतमा सदनमा पेस गर्न नहुने पक्षमा उभिएको थियो। ‘चिठि आएपछि कार्यकर्तालाई आश्वस्त पार्नका लागि आन्दोलनमा उतारियो, यसबारेमा नकारात्मक टिप्पणी गरियो। तर, जब आफू संकटमा पर्ने भइयो अनि पारित गर्ने निर्णय गरे’, उच्च स्रोतले भन्यो,‘अब प्रचण्ड र माधव नेपालमा कुन राजनीतिक नैतिकता खोज्ने?’

तर एमसीसीको विरोधमा राप्रपालगायतका दल सडकमा छन्। स्वतन्त्र विद्यार्थी र आम साधारण पनि यसको विरोधमा सडकमा उत्रिने क्रममा छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सदन अवरोध कायम राखेको छ। उसले एमसीसीका विषयमा औपचारिक धारणा अहिलेसम्म दिएको छैन।