शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

घर जाने र फुली थाप्नेको घमासान

बिहिबार, फाल्गुन १२ २०७८

काठमाडौँ l म्याद थप्नका लागि गरिएका अनेकौँ भनसुन, हारगुहार काम नलागेपछि एकजना जर्नेल दुईतारेबाटै अवकासमा, अर्का जर्नेल दर्जा उकासमा परेका छन् ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवाको एडिसी बसेका र यसचोटि पनि प्रमपत्नी आरजुमार्फत भनसुन गराएका जर्नेल अनन्त कार्की अन्ततः माघ २५ गते भक्तपुर घर गएका छन् ।

उनको ठाउँमा हाल सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुरमै कार्यरत प्रेमध्वज अधिकारी बढुवा हुँदैछन् । प्रेमध्वज पूर्णचन्द्र थापा प्रधानसेनापति रहँदा छोटो समयका लागि सैनिक सचिवको जिम्मेवारीमा थिए । सैनिक सचिव रहँदै वार कलेजका लागि पाकिस्तान गए ।

तर, यी तनहुँका प्रेमध्वज जागिरमा दुःखी मानिन्छन् । २७ बेसिकमा भर्ना हुँदाका खुकुरी होल्डर (सर्वोत्कृष्ट), तर बढुवाहरुमा पछि पारिएका । त्यही बेसिकका हिरालाल जोशीले प्रेमध्वज मात्र हैन योगराज शर्मा र प्रदीप केसीलाई पनि जितेका छन् ।

यस्तै, पहिला जनसम्पर्क निर्देशक रहिसकेका दुई तारे जर्नेल विज्ञानदेव पाण्डे, सुरेश बानियाँ वैशाखमा घर जाने भएका छन् । अब बढुवा हुने पाइपलाइनमा याम ढकालसहित जग्गा दलालीमा बद्नाम होमनाथ दवाडी छन् । दिपक बानियाँ र पूर्वराजा वीरेन्द्रका एडिसी जर्नेल ताराबहादुर थापाका छोरा सागर पनि छिट्टै दुईतारे हुँदैछन् ।

हाल प्रभुराम शर्माको सैनिक सचिव रहँदा सानातिना कुरामा हात हालेपछि सुनिल श्रेष्ठलाई पाँच महिनामै इन्टतर्फ सारिएको छ भने सैनिक सचिवमा गौरव केसी हाजिर भएका छन् । उनी भारतबाट एनडिसी कोर्ष गरेर भर्खरै फर्केका हुन् ।

उता, सेनाले सञ्चालन गरेको वृत्तिविकास तालिमअन्तर्गत पहिलो चरणको तीन महिने अवधी समाप्त भएको छ । मंसिर १ बाट शुरु भएको उक्त तालिम माघ २९ मा सकिएको हो । पेशागत दक्षता अभिवृद्धिका लागि सञ्चालित उक्त तालिमका क्रममा देशभरका करिव ५० प्रतिशत सेनाले तीन महिनासम्म विभिन्न जंगलमा तालिम लिएका हुन् ।

प्रत्येक सैनिकले दुई वर्ष लिइसक्नुपर्ने प्रावधान बनाइएको उक्त तालिम अब अर्को वर्ष सञ्चालन हुने सैनिकस्रोतले जनाएको छ । यसचोटि एकथरि सेनाले तालिम लिए भने अर्काथरिले व्यारेक, गण र कार्यालयको ड्युटी गरे । यसचोटिका ड्युटीवाल सेनाले अर्कोचोटि पालैपालो तालिम लिने भएका छन् । जनआस्था साप्ताहिकमा खबर छ।