काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्र मत नमिल्दा टुटे पनि फरक नपर्ने बताएका छन् । उनले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै मत नमिल्दा गठबन्धन टुटे पनि फरक नपर्ने बताएका हुन् ।
एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्र मत नमिल्दा यसको भविष्यबारे प्रश्न उठिरहेका बेला खनालको यस्तो प्रतिक्रिया आएको हो । नेता खनालले भने– ‘गठबन्धन टुटे पनि केही फरक पर्नेवाला छैन । टुटीहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन । हामीले देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा हामी निरन्तर काम गर्दछौँ ।’
नेता खनालले यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने पनि स्वतन्त्र रहेको बताए । उनले भने– ‘मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरु कांग्रेसका नेताहरुलाई पनि भनेको छु, तपाईंहरु स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौँ । आ-आफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ ।’
नेकपा एकीकृत समाजवादीले एमसीसीमा समर्थन नगर्ने र माओवादी केन्द्रले पनि यही निर्णय गरेको खनालले बताए ।
एमसीसीप्रति तीव्र विरोध रहे पनि प्रधानमन्त्री देउवाले पारित गर्न जबर्जस्ती गरेको खनालले बताए । एमसीसी विरोधमा नागरिकले रगत बगाइरहेको भन्दै खनालले यस्तो बेलामा अनुमोदन गराए नेपालका लागि दुखद हुने बताए ।