काठमाडौं। २५ बर्ष सहकार्य गरेका डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे एमसीसी प्रकरणमा टिप्पणी गरे,‘यो ढुलमुले चाला भयो, उनीभन्दा त केपी ओली ठिक छन् जे भन्छन् निर्णय गर्छन्।’
प्रतिनिधि सभा विघटनका दुई निर्णयप्रति ओलीको खरो आलोचना गर्ने भट्टराईले एमसीसी प्रकरणमा प्रचण्डले देखाएको द्वेध चरित्रमाथि यस्तो टिप्पणी गरेका थिए। भट्टराई एमसीसीको पक्षमा छन्।
खुला र प्रतिस्पर्धाको राजनीतिमा प्रचण्डको पतन पहिलो संविधानसभाको विघटनताका देखि नै सुरु भएको थियो। त्यसअघि उनी पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाली सेनामा गरेको हस्तक्षेपले ओरालो यात्रा तय भइसकेको थियो।
‘राजनीतिमा एकै पटक खरानी कोही हुँदैन, विस्तारै सक्किने हो। अहिले सीपी मैनालीको हविगतलाई उदाहरणका रुपमा नजरअन्दाज गर्न हुँदैन’, स्रोत भन्छ,‘प्रचण्डले त्यहि अवस्थामा आफूलाई देख्नेछन्।’
कतिपय व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि गरिने गोप्य सम्झौता र पत्रका कारणले पनि प्रचण्डको आरालो यात्रामा गियर बढ्दैछ। हेगमा रहेको मुद्दा फिर्तासहितका कतिपय सर्तमा उनले गोप्य रुपमा अमेरिकासँग एमसीसी पारित गराउने पत्र कोर्ने र चीनसँग हिमचिम बढाउनुलाई अर्थपूर्ण रुपमा हेरिन्छ।
यद्यपि आन्तरिक रुपमा नै उनको राजनीतिक साख स्खलको सुरुआत ७ बर्षअघिदेखि भइसकेको थियो।
दोस्रो संविधानसभाको निर्वाचनदेखि नै माओवादीको पतनलिलाले गति लियो। जब प्रचण्डले क्रान्तिकारी विचारधारालाई छाडेर अवसरवादी अभियानमा आफूलाई समाहित गर्दै गए उनी नेतृत्वको माओवादी विस्तारै ताछिन थाल्यो। मोहन वैद्यसहितको ठूलो पंक्ति दोस्रो संविधानसभा चुनावसम्म अलग हुँदा प्रचण्ड तेस्रो हैसियतमा सदनमा पुगे।
‘नेतृत्वले पार्टीलाई संगठनात्मक रुपमा चलाउन सकेन भने, त्यसको महत्व र राजनीतिक दिशालाई कायम गराउन जानेन, अहंकार र सुप्रिमो मात्र ठान्यो भने पतन निश्चितप्रायः छ’, एक जना विश्लेषक भन्छन्,‘अवसरवादका लागि कतै कोही जोडिए पनि त्यो राजनीतिक र वैचारिक हिसाबले पतित हुन्छ, प्रचण्ड अहिले त्यहि लयमा छन्।’
संविधान जारी हुनासाथ तेस्रो हैसियतको पार्टीबाट डा. भट्टराईलगायतको अर्को पंक्तिले प्रचण्डको नेतृत्वबाट ताछिने निर्णय ग¥यो। विघटन र एकीककरणको प्रचण्ड नीतिले त्यहाँ पनि धक्का खाएको थियो। तर, प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आफूलाई बलियो शक्तिका रुपमा उभ्याउनका लागि प्रचण्डले ओलीको प्रधानमन्त्री मोहलाई मोहरा बनाई पार्टी एकीकरणसम्मको खाका तयार पारे। ‘त्यसबेला सबैले प्रचण्डलाई माओवादीलाई एमालेकरण गरेको भनी टिप्पणी गरेका थिए। ओली सोही समयमा पनि माओवादीप्रति अनुदार थिए’, उच्च स्रोतले भन्यो,‘एउटै पार्टीमा ओली जनयुद्ध दिवस नमान्ने, प्रचण्ड प्रमुख अतिथि हुने। पार्टीचाहिँ गाईको टाउकोमा गधाको जिउजस्तो देखिन्थ्यो।’
प्रचण्डले राजनीतिमा अनेक प्रकारका प्रयोग गर्दा हालसम्म उतारचढावका हिसाबमा कांग्रेससहितको गठबन्धन बनेको छ। यो सत्ता स्वार्थको खेल रहेको र प्रचण्डको पछिल्लो पटक राजनीति जोगाउने हतियार थियो। तर, एमसीसी प्रकरणमा प्रचण्ड भूराजनीतिक हिसाबमा पनि विवादमा तानिएका छन् भने आफ्नै दलभित्र पनि द्वेध चारित्रिक प्रमाणित भएका छन्। ‘यसले अब उनलाई पार्टीभित्र पनि हानि गर्छ भने बाहिर त उनीसँग कोही पनि मिल्नेवाला छैन’, स्रोतको दाबी छ,‘प्रचण्डको भूमिका र चरित्रका कारणले नै आगामी चुनावमा उनीसँग गठबन्धन नगर्नका लागि अब विश्वशक्तिको लविङ नै हुन्छ। यसले उनको पतन निश्चित बनाउनेछ।’