काठमाडौं। अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफलका लागि प्रस्तुत हुने भएको छ। १६ फागुनसम्म पारित गरिसक्नुपर्ने पत्र पठाएको सत्ता गठबन्धनका तर्फबाट एमसीसी प्रस्तुत हुन लागेको छ।
प्रमुख प्रतिपक्षी दल एमाले समेत सदनमा उपस्थित हुने वातावरणका आधारमा सदन सुचारु हुने बताइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै उक्त विषयको खुलासा गरेका हुन्।
चरम विवादीत र गिजोलिएको विषय बनेको एमसीसीका कारण प्रमुख तीन दलका नेता उत्तानो पर्ने अवस्था आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता नै स्पष्ट रुपमा उत्तानो पर्नेछन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त पारित गराउने पत्र नै पठाएको सार्वजनिक भएपछि यो विषय अझ विवादीत बनिसकेको छ।
माओवादी एमसीसीको विपक्षमा रहेको थियो। तर, प्रचण्डले गठबन्धनमा सहमति गरी पारित गर्ने पत्र एमसीसीलाई लेखेका थिए। कार्यकर्तालाई भने एमसीसी कुनै हालतमा पारित नहुने बताएका उनी यहि प्रकरणमा चरम विवादमा परे भने त्यसलाई ढाकछोप गर्न सदनमा फरक मत राखेर जाने पनि सार्वजनिक गरेका छन्।
प्रचण्ड भन्छन्,‘सदनमा प्रस्तुत भएर कांग्रेस र एमालेले पारित गरे पनि हामी फरक मत राखेर जानेछौं तर विरोध र अवरोधचाहिँ गर्दैनौं।’ प्रचण्ड यो विवादबाट उम्कनका लागि अनेक सेटिङका आधार तयार पारिरहेका थिए।
उनले हालै मात्र प्रधानमन्त्री देउवासहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए भने शनिबार मात्र उनले प्रधानमन्त्रीसहित एमसीसीको चरम विरोध गरिरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत वार्ता गरेका थिए।
‘अमेरिकाको चर्को दबाब झेल्न नसकेपछि आफैंले दिएको समयसीमाभित्र पारित गराउनका लागि प्रचण्डले एमसीसी टेबुल गराउन लागेका छन्’, उच्च स्रोतले भन्यो,‘सुँगाको चालमा सभामुख अग्नीप्रसाद सापकोटाले छलफलका लागि प्रस्तुत गर्दैछन् भने एमालेसमेत सहभागी हुनेगरी प्रतिनिधि सभा सञ्चालनको तयारी भएको छ।’
एमसीसी प्रकरणले नेकपा एमालेका नेताहरू पनि उत्तानो पर्ने सम्भावना छ। ओली प्रधानमन्त्री भएका बेला सदनमा पेस गर्नका लागि अनेक पटक प्रयत्न भएको थियो। एमाले एमसीसीको पक्षमा नै रहने खुलासा प्रचण्डले गरिसकेका छन्। बालुवाटारमा भएको बैठकका क्रममा नै यस्तो गोप्य तयारी भएको उच्च स्रोतको दाबी छ।
‘सबै मिलेका छन्। कांग्रेस र एमाले मिलेर पारित गर्ने र गठबन्धन भत्किएको खण्डमा एमाले सरकारमा जानेगरी अन्य बाहिरिने तयारी समेत भएको सुनिन्छ’, स्रोतले भन्यो,‘नैतिकताका हिसाबमा पनि माओवादी नेकपा एकीकृत समाजवादी सरकारमा बस्न नमिल्ने अवस्था हुनेछ।’
एमसीसी पारित भएको खण्डमा नेपालको राजनीतिमा नयाँ मोड आउने कतिपयको बुझाई छ। ‘एमसीसी चुनावी मुद्दासमेत बन्न सक्ने सम्भावना छ। विरोध र आन्दोलन काठमाडौंका सडकमा व्याप्त देखिनेछन्।’