काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दुई प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रकरणमा दनक दिएका छन्।
शनिबार दुई पटक देउवाको सरकारी निवास बालुवाटारमा पुगेका दुवै नेतालाई एमसीसी जसरी पनि पारित गर्न सहयोग नगरे विकल्पमा जाने चेतावनी दिएको उच्च स्रोतको दाबी छ। देउवाले विकल्पमा जाने भन्नुको अर्थ गठबन्धन भत्काउने र एमालेसँग सहकार्य गरी एमसीसी पारित गराउने हो।
यता एमाले अध्यक्ष केपी शर्मा ओली भने यस प्रकरणमा मौन छन्। एमसीसी टेबुल भएपछि मात्र एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै रणनीतिक निर्णय लिने तयारी गरेको छ। स्थानीय चुनाव घोषणा भइसकेका कारण एमाले एमसीसी जस्तो गिजोलिएको विषय र चरम विवादीत विषयको पक्षमा उभिने सम्भावना कम रहेको उच्च स्रोतको दाबी छ।
‘नेकपा सरकार हुँदा यहि विषयलाई देखाएर प्रचण्ड र माधवकुमार नेपालले सरकार ढालेका थिए, अहिले यहि विषयमा एमालेको धारणा मागिरहेका छन्’, स्रोतले भन्यो,‘हामीले त सदनमा प्रस्तुत गरी जनप्रतिनिधिको विवेकका आधारमा निर्णय हुने बताएका थियौं।’
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र गठबन्धन कायम गर्नका लागि अमेरिकाको प्रयोग गरिएको थियो। त्यसका लागि प्रचण्डले एमसीसीलाई पारित गराउने सहमतिसहितको पत्र लेखेको पनि सार्वजनिक भइसकेको छ।
प्रचण्डलाई एमसीसी प्रकरणमा चीनले दबाब दिएको विषय सार्वजनिक भएपछि उनी रक्षात्मक रुपमा पारित नगर्ने पक्षमा उभिन लागेका छन्। उनले सदनमा एमसीसीमा फरक मत कायम राख्ने तयारी गरेको खुलासा समेत भइसकेको छ।
‘पारित गर्छु भनेर पत्र लेख्ने, गठबन्धनमा सहमति गर्छु भनेर पत्र लेख्ने। अनि अहिले फरक मत राख्नु भन्न थालेका छन्। प्रचण्डको बोलीको कुनै टुंगो भएन’, स्रोतले भन्यो। प्रचण्ड एमसीसीलाई चुनावपछि ठेल्ने योजनामा थिए तर प्रधानमन्त्री देउवाले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरी अमेरिकाको दबाब रहेकाले विकल्प रोज्न बाध्य नहोस् भनी चेतावनी समेत दिएको सतहमा आएको छ।
बालुवाटार स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री देउवाको उक्त चेतावनीयुक्त जवाफ सुनेपछि बाध्य भएर बालुवाटारबाट बाहिर निस्किएका थिए। जसरी भए पनि सदनमा टेबुल गराउनका लागि सभामुख अग्नी सापकोटाले आनाकानी गरे एमालेसँग मिलेर महाअभियोग लगाई नयाँ सभामुख ल्याउनेसम्मको तयारी देउवाको छ। एमसीसी सम्झौता देउवा अघिल्लो पल्ट प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री रहेका हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको विवादीत सहयोग योजना हो।