शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपालको व्यापार घाटा बढ्दो, ६ महिनामा नेपालले १० खर्बको सामान किन्यो

बिहिबार, माघ २७ २०७८

काठमाडौं । चालु आर्थिक वर्ष आधा अवधीमा मुलुकको व्यापार घाटा झण्डै ९ खर्ब पुगेको छ । बितेका ६ महिनामा आयात ५१ दशमलव १ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको हो ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म नेपालले झण्डै १०  खर्बको सामान किनेको छ ।  पोहोर यहि अवधिमा आयात ६ खर्ब ६१ अर्ब रुपैयाँ मात्रै थियो ।

उच्च दरले बढेको आयातका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आउनुको साथै सोधानान्तर स्थिति पनि घाटामा गएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब रुपैयाँले घाटामा छ । जबकी गत वर्ष सोधानान्तर स्थिति १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स ५ दशमलव ५ प्रतिशतले घट्दै ४ खर्ब ६८ अर्ब कायम हुँदा त्यसको असर विदेशी मुद्राको सञ्चिती र सोधानान्तर स्थितीमा परेको हो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयात ३७ दशमलव ५ प्रतिशतले बृद्धि हुदाँ चीनबाट हुने आयात पनि उतिकै ५१ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै अन्य मुलुकबाट हुने आयात भने ९८ दशमलव २ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ । यहि अवधिमा  एमएस विलेट, सिमेन्ट, दाल,  कीटनाशक लगायतका वस्तुको आयात भने घटेको छ ।