शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कमल थापा पूर्व अध्यक्षहरू पशुपति, लाेकेन्द्रकाे साथ खाेज्दै

बुधबार, माघ २६ २०७८

काठमाडौँ l  पूर्वपञ्च कमल थापा राप्रपा त्यागेर अर्को पार्टी गठन गर्ने  तयारीमा जुटेका बेला राप्रपाका को को नेताले साथ दिन्छन् भन्ने हिसाबकिताब निकाल्न थालेका छन् । कमल थापाले पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दको साथ खोजिरहेका छन् । पूर्वअध्यक्ष राणालाई भने अध्यक्ष बनाउने प्रस्ताव गर्ने तयारी गरेको पनि राप्रपा स्रोतले उल्लेख गरेको छ ।

थापाले आफूलाई पदलोलुप भएको आरोप नलागोस् तर पार्टी आफ्नो ग्रिपभन्दा बाहिर पनि नजाओस् भन्ने प्रयासमा रहेको उनीनिकट नेताहरुले बताउने गरेका छन् । त्यही कारण बुढेशकाल लागेका राणालाई अध्यक्षका लागि प्रस्ताव गर्ने सुरमा रहेका हुन् ।

चन्दका छोरा जयन्त चन्द भने थापालाई साथ दिने मूडमा देखिएका छन् । बाबु चन्दले अहिलेसम्म मुख नखोलेपनि छोरा भने थापाले बोलाएको भेलामा सहभागी भएका छन् ।

थापानिकट स्रोतका अनुसार,  धुव्रबहादुर प्रधान, विक्रम पाण्डे, रोशन कार्की, भुवन पाठक, बुद्धिमान तामाङलगायतका नेताहरुलाई फकाउने प्रयास गरिरहेका छन् । तर, उनीहरु थापानिकट भएपनि राप्रपा छोड्ने मुडमा नरहेको नेताहरुले बताएका छन् । महामन्त्री कुन्ती शाही भने थापाको पार्टीमा जान सक्ने अनुमान गरिएको छ ।

अहिलेको केन्द्रीय कमिटीमा रहेका अधिकांश नेता र कार्यकर्ताले थापालाई साथ दिने संभावना कम रहेको विश्लेषण भइरहेको छ । निर्मलनिवासका मानिसहरु पनि राप्रपाबाट कमभन्दा कम नेताहरुले मात्रै थापालाई साथ दिउनु भन्ने मनसायमा रहेका कारण अनौपचारिक रुपमा नेताहरुलाई कन्भिन्स गर्ने प्रयासमा लागेको बताइन्छ ।  

२०७८ माघ २४ गते सोमबार नवदुर्गा पार्टी प्यालेसमा थापाले बोलाएको भेलामा करिब १ सय जनाजति सहभागी भएको बताइए पनि उनकै विश्वासपात्र मानिएका भुवन पाठक सहभागी थिएनन् । त्यहाँ सहभागी भएका ध्रुबबहादुर प्रधानले थापाले पार्टी छोड्न नहुने र नछोड्ने प्रतिक्रिया दिएका थिए ।

अहिलेसम्म पशुपति शमशेर राणाले पनि थापालाई साथ दिने कन्र्फम भने भइनसकेको उनीनिकट नेताको भनाइ छ । ती नेताका अनुसार राप्रपाको केन्द्रीय कमिटी बैठकमा थापा सहभागी नभएपनि नेतृत्व चुनिइसकेपछि बैठक बहिस्कार गर्नु र नेतृत्व अस्वीकार गर्न नहुने भन्दै राणा सहभागी भएका थिए ।

महामन्त्री धवलशमशेर राणाले पनि पशुपतिलाई थापासँग जानबाट रोक्ने प्रयास गरिरहेको बताइन्छ । रोशन कार्की, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डेलगायतका नेताहरुलाई थापासँग जान नदिन प्रकाशचन्द्र लोहनीले प्रयास गरिरहेको राप्रपामा चर्चा चलिरहेको छ । साँघु साप्ताहिकमा खबर छ l