काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जादैछ ।
विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपाली टोली आज राति ८ बजे ओमान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीले खेल्ने छन् ।
फेब्रुअरी १८ देखि २४ सम्म छनोट खेलहरु हुनेछन् । समूह ए मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् । समूह बी मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले ओमानविरुद्ध फेब्रुअरी १८ मा खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा हुनेछ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछन् । फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।