शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

माओवादी केन्द्रको नैतिक पतनः ‘मूर्तिचोर’लाई मन्त्री उपहार?

शनिबार, माघ २२ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताको राजनीतिक नैतिक पतन निर्णय सार्वजनिक भएको छ। कर्णाली प्रदेश सरकारमा मूर्तिचोर अभियोगमा फौजदारी सजाय पाएकालाई मन्त्री बनाउन लागिएको हो। त्यहाँमाथि उनी सांसद पनि होइनन्।

हुम्लाका कार्चेन लामालाई मन्त्री बनाउन लागिएको हो। चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा उनीसँगै छिरिङ पाल्दुम लामाले पनि सजाय पाएका थिए।

झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो।

त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले उनीहरूलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। माओवादी केन्द्रले लामालाई ६ महिनाका लागि मन्त्री बनाउनेगरी नाम अगाडि सारेको छ।

कार्चेन लामाको नाम अगाडि ल्याएपछि माओवादीको नैतिक पतन सुरु भएको कतिपयको टिप्पणी आएको छ। माओवादीले यसअघि नै कतिपय विवादीत व्यक्तिलाई मन्त्री नियुक्त गरेको थियो भने कतिपयलाई सांसद बनाइसकेको छ।

हाल माओवादी केन्द्रमा विवादीत ल्यारक्याल लामालाई समेटिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका उनलाई तत्कालिन झलनाथ खनाल सरकारका पालामा पनि प्रचण्डको सिफारिसमा मन्त्री बनाउँदा विवाद भएको थियो। लामा त्यसबेला एमाले थिए भने पछि माओवादीमा प्रवेश गरेका हुन्।

बैंकको लकरमा लामाले हतियार राखेको विषय बाहिर आएको थियो। कार्चेनको सिफारिस पनि ल्यारकाले नै गरेको उच्च स्रोतको दाबी छ।