शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गठबन्धन तोड्ने देउवाको धम्कीपछि प्रचण्ड र माधव नेपालले के आश्वासन दिए?

बिहिबार, माघ २० २०७८

काठमाडौं। अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गराउन नदिन सभामुख अग्नी सापकोटाको प्रयोग गरेको खण्डमा सत्ता गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका छन्।

बुधबार भएको प्रधानमन्त्री देउवासँगको छलफलका क्रममा देउवाले जंगिँदै आफू अप्ठेरोमा परेको र एमसीसी पास गराउन कुनै छलकपट नगरी सहयोग गर्न दुवैलाई आग्रह गरेका थिए। चुनावसम्म नै गठबन्धन गरी जाने भए एमसीसीमा सहयोग अनिवार्य हुनुपर्ने देउवाको धम्कीपूर्ण सर्त सुनेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संशोधन अनिवार्य हुनुपर्ने बताएका थिए।

तर देउवाले त्यसो हुन नसक्ने बताएपछि भने एमसीसी पास गर्नका लागि कुनै उपाय खोजिने प्रचण्डको भनाई थियो। उनले त्यसका लागि अन्य चुनावसम्म नै गठबन्धन गरी जानुपर्ने सर्त अघि सारेको उच्च स्रोतले जनाएको छ।

देउवा त्यस विषयमा भने सकारात्मक रहेका थिए। आगामी २८ फेब्रुअरीसम्म एमसीसी पास गर्ने बचन प्रधानमन्त्री देउवाले दिएका कारण अहिले सत्ता गठबन्धनका बैठक यहि विषयमा केन्द्रित हुँदै आएका छन्। तर एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने कुनै पनि हालतमा एमसीसी संशोधन नगरी पास हुन नसक्ने बताएका छन्। उनले कतिपय दस्ताबेज गोप्य रहेको र त्यो जनतामा जानुपर्ने खनालको जिकिर थियो।