बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ठूला लगानीकर्ताको भटाभट ऋण कटौति गर्दै बैंकहरु, ६ अर्ब घट्यो सेयर कर्जा

बिहिबार, माघ २० २०७८

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एक व्यक्तिले एकै बैंक तथा वित्त संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी  सेयरमा ऋण  प्रवाह गर्न नपाइने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको त्यही नीतिका कारण अहिले बैंक तथा वित्त संस्थाले ठूला ऋणीबाट धमाधम ऋण फिर्ता गर्न लागेका छन् । शेयर बजारमा गिरावट आउनुको कारण त्यही भएको लगानीकर्ताको दाबी छ ।

राष्ट्र बैंकका अनुसार गत असारयता मात्रै ठूला ऋणीबाट बैंक तथा वित्त संस्थाले ९ अर्ब ६३ करोड बराबरको रकम फिर्ता लिइसकेका छन् ।

२०७७ को असारमा १ करोडभन्दा माथिको सेयरकर्जा ३१ अर्ब थियो । जुन २०७८ असारमा आउँदा ७३ अर्ब पुगेको थियो । तर मंसिरमा झन्डै १० अर्बले घटेर ६३ अर्ब कायम भएको छ ।

यसले ठूला लगानीकर्ता सेयर बेचेर बैंकको कर्जा तिर्न बाध्य भएको देखिन्छ । किनकी बैंकहरुले १ करोडभन्दा माथिका ऋणमा ४ करोडभन्दा बढी लगानी भएको पाएमा त्यस्तो कर्जा नवीकरण नै गर्न छाडेका छन्  ।

ठूला लगानीकर्ताको ऋण कटौती गरेका बैंक तथा वित्त संस्थालेसाना लगानीकर्तालाई भने बढाएका छन् । २५ लाखभन्दा तलको ऋण १८ प्रतिशतले बढेको छ । जसका कारण ठूला ऋणीको लगानी ९ अर्ब ६३ करोडले घट्दा कुल कर्जा भने अर्ब ६५ करोडले मात्र घटेको छ  ।

अहिले बैंक तथा वित्त संस्थाको सेयरबजारमा १ खर्ब लगानी छ जुन गत असारमा १ खर्ब ६ अर्ब हाराहारीमा रहेको थियो  ।

नेपाल राष्ट्र बैंकले ठूला ऋणीमा कडाइ गरेसँगै शेयर बजारमा गिरावट आएको दाबी लगानीकर्ताले गरेका छन् ।