समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक
काठमाडौँ :- एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ ।
बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो ।
यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमास सम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमास सम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८÷७९ को प्रथम त्रयमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिसत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिसत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रति शाखा कार्यालयहरू स्थापना गरेको छ ।