काठमाडौं– राष्ट्रिय युवा संघ नेपालको विघटित केन्द्रीय कमिटीका दुई दर्जन बढी पदाधिकारीले महाधिवेशन आयोजक कमिटीका नाममा व्यक्तिवाद हावी हुन खोजेको भन्दै पार्टी नेतृत्वसँग हस्तक्षेपको माग गरेका छन्।
एमाले भ्रातृ संगठनभित्र संयोजक किरण पौडेललगायतको टिमले युवा इञ्चार्ज महेश बस्नेतको उपस्थितिमा त्यसरी मनपरी गरेको असन्तुष्टहरूको भनाई छ।
हालै पोखरामा सम्पन्न सचिवालय बैठकलाई एकाएक आयोजक कमिटी बैठकमा परिणत गरि केही व्यक्तिले पहिले नै तय गरेका नामवली पढेर आयोजक कमिटी गठन गरिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताको शरणमा असन्तुष्ट समूह पुगेको हो।
१३ सय ५२ सदस्यीय केन्द्रीय कमिटी भंग गरी ४ सय १९ सदस्यीय सचिवालयलाई नै आयोजक कमिटी बनाएर आफूखुसी मान्छे राख्ने हटाउने काम भएको असन्तुष्ट समूहको भनाई छ।
हाल १३ सदस्यीय कार्यालय सदस्य रहेका तथा विघटित कमिटीका उपाध्यक्ष अमित लामा, उर्मिला सुनुवारसहित १४ जना पूर्व पदाधिकारीले पार्टी अध्यक्ष ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनवर्गीय संगठन समन्वय इन्चार्ज भानुभक्त ढकाल र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई लिखित ध्यानाकर्षण पत्र बुझाएका थिए।
पार्टीका मुख्य नेताहरुलाई भेटेर असन्तुष्ट पक्षले युवा संघको विद्यमान सचिवालय कमिटीलाइ नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशनको माग गरेका छन्।
पुस अन्तिम साता पोखरामा बसेको सचिवालय बैठकले किरण पौडेल संयोजक, संजिव झा र क्रान्ति बुर्लाकोटीलाई सह–संयोजक राखी महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो। अन्य पदाधिकारी खारेज गरिएको थियो।
उनीहरुले ४ सय १९ सदस्यीय सचिवालयलाई नै आयोजक कमिटी घोषित गर्नुपर्ने र कतिपय व्यक्ति नरहेको ठाउँमा साबिक १३ सय ५२ सदस्यीय केन्द्रीय कमिटीका सिनियर र सक्रिय सदस्य थप्नुपर्ने असन्तुष्ट समूहको माग छ।