काठमाडौं। यसै सातामा नेपालका ठूला मिडियाले आनन्दराज बतासको कम्पनीले कानुनसम्मत गरेका ठेक्काहरूविरुद्ध सेरिजमा समाचार प्रकाशन गरे। कान्तिपुरलगायतका मिडियाले निरन्तर रुपमा बतासविरुद्ध समाचार सम्प्रेषण जारी राखेर आम जनमानसमा एउटा गलत धारणा सिर्जना गर्ने प्रयत्न भयो।
यस प्रकरणसँग जुझीरहेका आनन्दराज बतासले बुधबार एक विज्ञप्ति जारी गरी सरकारले गरेका सम्झौता रद्द गर्न सक्ने सर्तसहितको प्रतिक्रिया दिएका छन्।
नेपालको पर्यटन क्षेत्रमा लगानी गरिरहेका नेपाली व्यावसायीमाथि मिडिया निरन्तर खनिनुको पछाडि विदेशी कम्पनीका स्वार्थ र प्रायोजन रहेको अनुमान गरिएको छ।
‘विदेशीको विज्ञापन र ठगीमा पनि मौन बसेका मात्र छैनन्, साक्षी बसेका ठूला मिडियाले नेपाली लगानीकर्तालाई धुलोपिठो बनाउने अभियान गरेका छन्’, उच्च स्रोतले भन्यो,‘यसको स्वार्थ विदेशीलाई नै ठेक्का दिनुपर्छ भन्ने एउटा अभियान पनि हो।’
नेपालका उद्यम र व्यावासायीलाई आजित पारी विदेशी लगानीका नाममा यहाँको रकमलाई अर्को मुलुकसम्म लैजाने वातावरण मिडिया ट्रायलका माध्यमले गरिन थालेको कतिपय व्यावसायीको बुझाई छ।
‘एनसेल प्रकरणमा यति बलियोगरी लेखिएन, भ्रष्टाचारका विषयमा पनि यति कस्सिएर लेखिएन। तर एउटा लगानीकर्ताले रितपूर्वक गरेका काममा खोजी खोजी न्यारेटिभ बनाउने काम भयो’, स्रोतले भन्यो,‘अब उनले सरकारसँग सम्झौता खारेज गर्दा हुन्छ भन्नेसम्मको अवस्था आउनु पछाडिको स्वार्थ र अर्बौं कुम्ल्याएका मिडिया मालिकको योजना के हो? यसको पनि उत्तर आउनुपर्छ।’
दर्ता नभएको, नेपालको जडिबुटी नै भारतलगायतमा निर्यात गर्नका लागि स्थापना गर्न लागिएको पतञ्जलीबारे ठूला मिडियाले जनतामा सजगताका साथ सूचना नदिएको उदाहरण दिँदै उच्च स्रोतले भन्यो,‘त्यस्ता कार्यक्रममा प्रधानमन्त्री पुग्छन्, खोई सेरिजमा प्रश्न गरिएको? अनि नेपाली व्यावसायीले आन्तरिक रुपमा गरेको लगानीमाथिचाहिँ निरन्तर प्रहार गर्ने?’
विदेशी कम्पनीहरूले यस्तै रणनीति अपनाएर नेपालबाट अर्बौं रकम अर्को मुलुकसम्म लगिरहेका छन्। यस विषयमा गहन खोज अनुसन्धान र सरकारमा बस्नेले पनि चासो दिएका छैनन्।