काठमाडौँ । बाणिज्य बैंकहरुले माघमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । तर, असोज कात्तिक र मंसिर महिनामा बढेको निक्षेपको ब्याजका कारण माघ महिनामा १ देखि डेढ प्रतिशतसम्म कर्जाको ब्याजदर भने बढ्ने भएको छ ।
निक्षेपको ब्याज बढाएसँगै कर्जाको ब्याज थप बढ्ने र यसले आन्तरिक रुपमा उत्पादन हुने बस्तुको मूल्य बढाउने भन्दै तत्कालका लागि निक्षेपमा पनि ब्याज नबढाउने भएका हुन् ।
बुधबार बैंकका सिइओहरुको छाता संगठन नेपाल बैकर्स एसोसिएसन्ले तत्कालका लागि ब्याज बढाउन नहुने निष्कर्ष निकालेको छ । पुष महिनामा प्रदान गरेको ब्याजमा १० प्रतिशतसम्म ब्याज बढाउन पाउने बाणिज्य बैंकहरुसँग सुविधा छ । तर, कोरोनाको बढ्दो संक्रमण आर्थिक गतिबिधीमा प्रभाव पार्ने र ब्याज बढाउँदा झनै त्यसले नकारात्मक असर पार्ने आकलन गर्दै ब्याज नबढाउने निष्कर्षमा पुगेको बैंकर्स एसोसिएसन्का पदाधिकारीले बताएका छन् । मंसिरमा १० प्रतिशत ब्याजदर बढाएका बैंकहरुले त्यसयता भने ब्याज बढाएका छैनन् ।
त्यस्तै अनौपचारिक रुपमा बिकास बैंकका सिइओहरुको बिचमा भएको कुराकानीमा , कोरोनाका बढ्दो संक्रमण र आर्थिक गतिबिधी अवरुद्ध हुन सक्ने भन्दै बिकास बैंकहरु पनि अहिलेसम्म नबढाउने पक्षमा देखिएका छन् । तर , बिकास बैंकहरुले औपचारिक रुपमा बैठक बसेर यसबारेमा निर्णय भने गरेको छैन । ु
नेपाल राष्ट्र बैंकले गत असोजमा निर्देशन जारी गर्दै कर्जाको ब्याज बढाउँदा तीन त्रैमासको औसत स्प्रेडदरका आधारमा कर्जाको ब्याजदर तोक्न निर्देशन दिएको थियो । गत असोज, कात्तिक र मंसिर महिनामा बढेको निक्षेपको ब्याजले स्प्रेडदर बढाउने र कर्जाको ब्याज १ देखि डेढ प्रतिशतसम्म बढ्ने बैंकका सिइओहरु बताउँछन् ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि र निक्षेप र कर्जाको ब्याजदर प्रकाशन गर्नुपर्छ । जसका लागि ब्याजदर तय गर्न बुधबार नेपाल बैंकर्स एसोसिएसन्को बैठक बसेको हो ।