काठमाडौं। चुनाव जति नजिकिँदै गएको छ नेपालको राजनीतिक समीकरणमा पनि उतारचढावका खेल जारी छन्। हाल सरकार चलाइरहेका सत्ता गठबन्धन दलको एउटा प्रमुख घटक नेकपा माओवादी केन्द्र चुनावसम्म नै यसरी जाने हुँकार गरिरहेका छन्। तर, त्यसको मुख्य दल नेपाली कांग्रेस भने एक्लै मैदानमा उत्रिने तयारीमा छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धन भत्काउँदै चुनावी मैदानमा जित निकाल्ने प्रक्षेपण र तयारीमा छन्। त्यसको प्रभावकारी कदम बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग वान टु वान वार्ता गरी सुरु गरेका छन्। त्यसका लागि देउवालाई अनेक अफर पनि दिएका छन्। खासगरी ओली राष्ट्रिय सभाको चुनावअघि नै गठबन्धन भत्काउन चहान्छन्।
ओलीले देउवालाई गठबन्धन भत्काउने सर्तमा अनेक अफर दिएका छन्। गठबन्धन गरेका देउवालाई त्यसअघि नै सदन खुलाउने चटारो छ। ओलीले चुनावअघि गठबन्धन भत्काए कांग्रेसलाई एकल सरकार चलाउन सहयोग गर्ने, एमसीसी पारितका लागि सहयोग गर्नेलगायतका अफर दिएका छन्।
ओलीनिवास बालकोटमा पुगेका प्रधानमन्त्री देउवासँगको वान टु वान वार्तामा यस्ता अफर दिइएको हो। एमसीसी पारित अहिले मुख्य चुनौति र बहस बनिरहेको बेला ओलीको अफरमाथि देउवा विचाराधिन रहेका छन्।
सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा छैनन्। यहि मुद्दामा टेकेर ओलीले देउवालाई सत्ता गठबन्धनबाट अलग बनाउने कसरत गरेका हुन्।
‘गठबन्धन तलसम्म नै बनेको खण्डमा एमालेलाई धक्का लाग्छ, त्यसका लागि भत्काउन आवश्यक हुन्छ। कांग्रेसबाहेकका दल गठबन्धन भत्काउन मान्दैनन्, अलग हुने कांग्रेस नै हो’, स्रोतले भन्यो,‘एमालेको प्रयत्न त्यहाँबाट कांग्रेस अलग बनाउने नै हो र हुन्छ।’
देउवा चुनावसम्म पुग्दा गठबन्धनभन्दा अलग हुने तयारीमा नै छन्। उनलाई कांग्रेसका पदाधिकारीदेखि कतिपय नेताको दबाब पनि छ। ‘हामी माओवादीलाई भोट हालेर, मागेर हिँड्ने पक्षमा छैनौं, चुनाव आएपछि यो सत्ता गठजोड हुँदैन’, कांग्रेस नेता शेखर कोइरालाले भनेका छन्,‘सभापति देउवाको निर्णयले नै आगामी रणनीतिमा भर पार्नेछ।’