काठमाडौं । नेकपा एमालेले आज एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । हिमाली केहि जिल्ला बाहेक अन्य सबै जिल्लामा एकसाथ अधिवेशन गर्न लागेको एमालेले जनाएको छ ।
अत्यधिक चिसोको कारण केही हिमाली जिल्लामा अधिवेशन गर्न असहज भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन भएको डेढ महिनापछि एमालेले जिल्ला अधिवेशन गर्न लागेको हो ।
अध्यक्ष केपी ओलीले बिहान ११ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।
एमालेले भरसक सहमतिमै नेतृत्व चयन गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा मात्रै चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।
यसैगरि प्रदेश २ का केही जिल्लामा सदस्यता विवाद रहेकोले ती जिल्लाहरुमा पनि आज अधिवेशन हुन नसक्ने बताइएको छ । जिल्ला अधिवेशनपछि एमोलले आगामी माघ ८ गते प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ ।