शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानमन्त्रीको सचिव र मन्त्रीलाई निर्देशन : आलटाल होइन जसरी पनि विकास हुन पर्याे

बिहिबार, पुष २२ २०७८

काठमाडौँ । अर्थतन्त्रका सुचकहरु नकारात्मक बन्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवसँग यसको जवाफ खोजेका छन् । साथै उनले कुनैपनि बहानामा बिकास रोक्न नमिल्ने र जनताका आवश्यकता पुरा गर्नुपर्ने निर्देशन दिएका छन् ।  

अर्थमन्त्रालयले तरलता अभाव ,ब्यापार घाटा, पुँजीगत खर्चका बारेमा प्रधानन्त्रीलाई जानकारी गराएको  थियो  । साथै  तरलता अभाव हटाउन, ब्यापार घाटा कम गर्न र पुँजीगत खर्च बढाउन गरेका प्रयासका  बारेमा पनि जानकारी दिएको थियो । तर, प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएका समस्या अहिले मात्रै  देखिएका नभई मुलुकले वर्षेनि यस्तै समस्या भोगेकाले तिब्र रुपमा  बिकासका काम अघि बढाउन निर्देशन दिएका छन् । जनताको अपेक्षा र आवश्यकता पुरा गर्ने गरि काम गर्न समेत उनले निर्देशन दिएका छन् ।

सरकारले बिकास निर्माणका काम अघि बढाउन नसक्दा पुँजीगत खर्च हुन सकेको छैन । जसको सिधा असर बैंकहरुको निक्षेपमा परेको  छ । लगानीयोग्य रकमको अभावमा उद्योगी तथा व्यवसायीले ऋण  पाउन सकेका छैनन् । जसको असर मुलुकको आर्थिक बृद्धिमा पर्ने देखिएको छ । जसका कारण प्रधानमन्त्रीले समेत यसमा चासो बढाएका हुन् ।  

कात्तिक महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ । त्यस्तै  शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा छ ।  

कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ ।  संघीय सरकारको खर्च २ खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन  ३ खर्ब ३४ अर्ब ३१ करोड छ । बिकास खर्च ज्यादै
 न्युन मात्रै खर्च भएको छ।

कात्तिक महिनामा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

तर यहि समयमा वैदेशिक रोजगारिमा जानेहरु भने बढेका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६,३८२ पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ सय ४९.१ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।