काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशपछि बनेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुनः सर्वसम्मत निर्वाचित गरेर एउटा नाटकीय शैलीको सुरुआत गरेको छ।
संसदीय मान्यतामा हिँडेको माओवादीले राष्ट्रिय सम्मेलनलाई रातारात महाधिवेशन घोषणा गरी प्रतिनिधिको प्रक्रियाविरुद्ध केन्द्रीय कमिटी र अध्यक्ष निर्वाचित गराएको हो। यसलाई कतिपयले प्रचण्डको नाटकीय पुर्नोदय पनि भनेका छन्।
अब प्रचण्डले पदाधिकारी प्रस्तावित गर्नेछन्। यसअघि उनैले प्रस्ताव गरेको २६३ सदस्यीय केन्द्रीय कमिटीलाई अनुमोदन गरिएको थियो। सोही केन्द्रीय कमिटीको अध्यक्षमा आफू निर्वाचित भएका हुन्।
‘यो महाधिवेशन हो की गाइजात्रा भन्ने नै टुंगो लाग्न सकेन। प्रचण्डले आफूसहितलाई केन्द्रीय सदस्य प्रस्ताव गरे सबै पास भयो। फेरि त्यहि केन्द्रीय कमिटीले उनलाई अध्यक्ष बनायो’, एक नेता भन्छन्,‘दुनियाँमा यस्तो महाधिवेशन त कहिले देखिएको थिएन।’
अब प्रचण्डले नै पदाधिकारी प्रस्ताव गरी त्यसैलाई पास गराउने तयारी भएको छ। ‘फेरि उपाध्यक्षदेखिका अन्य पदको नाटकीय प्रस्ताव हुनेछ र प्रचण्ड गठित केन्द्रीय समितिले पारित गर्नेछ।’
माओवादी केन्द्रभित्र आन्तरिक लोकतन्त्रलाई तिलाञ्जली दिँदै प्रचण्डले प्रालिका रुपमा पार्टीलाई चलाएको बताइएको छ। राम कार्की र लेखनाथ न्यौपानेले राखेको फरक मतलाई स्थान दिने बताइए पनि प्रचण्डले माओवादी केन्द्रलाई अघोषित निजी कम्पनी बनाएको बताइन्छ।
उनले केन्द्रीय समितिमा परिवारका सदस्यहरुलाई महत्वका साथ स्थान दिएको भन्दै कतिपयले प्रचण्डपथ नभई माओवादीलाई परिवारपथमा हिँडाएको भने आलोचना गरेका छन्।