काठमाडौँ l नेकपा माओवादी केन्द्रको महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठकले अध्यक्षमा फेरि पुष्पकमल दाहाललाई सर्वसम्मत गरेको छ भने अन्य पदाधिकारीको टुंगो भने केही दिनमा लगाउने बताएको छ।
पदाधिकारी चयन कार्य प्रचण्डको लागि निकै कठिन बनिरहेको छ । तत्काल पदाधिकारीबारे निर्णय लिन नसकेका कारण चीनबाट फर्कन लागेका पुन दम्पतिलाई बहाना बनाएर प्रचण्डले समय लम्ब्याएका हुन् ।
उपचारका क्रममा चीनमा रहेका माओवादी नेता बर्षमान पुन र माओवादी नेतृ ओनसरी घर्तीमगर मंगलबार फर्केपछि मात्र पदाधिकारीहरुको टुंगो लगाइने जानकारी बैठकपछि अध्यक्ष दाहालले गराएका थिए। बैठकबाट बाहिरिएका अध्यक्ष दाहालले भने- बर्षमान र ओनसरीजीहरु भोलि फर्कँदै हुनुहुन्छ, उहाँहरु फर्केपछि पदाधिकारीको टुंगो लगाउने छौँ।’
माओवादी महाधिवेशनको अन्तिम दिन आइतबार दाहालले बन्दसत्रमा २३६ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। माओवादीको केन्द्रीय कमिटी बैठकले १५ सदस्यीय पदाधिकारीको टुंगो लगाउने छ।