काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महाधिवेशन पछिको दोस्रो बैठकले आज पार्टीको कोषाध्यक्ष मनोनयन गर्ने बताइएको छ ।
यसअघि कांग्रेसको पहिलो बैठक शनिवार बसेको थियो । आजको बैठक दिउसो दुई बजे बस्ने छ । कोषाध्यक्ष मनोनयन भए पछि बल्ल कांग्रेस पदाधिकारीको टिमले पूर्णता पाउने छ ।
कांग्रेसमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सदस्यहरुमध्येबाट एक जनालाई सभापतिको सिफारिसमा कोषाध्यक्ष चयन गर्ने विधानमा उल्लेख छ ।
कोषाध्यक्षका लागि विनोद चौधरी, उमेश श्रेष्ठ र चित्रलेखा यादवको नाम चर्चामा छ । यादवले यसअघि पनि कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन् ।
आजको बैठकमा समसामयिक राजनीतिका विषयसँगै, राष्ट्रिय सभा निर्वाचन र सरकार संचालनमा भइरहेका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।