काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन लम्बिएको छ। अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताव हिजौ पारित भए पनि विधान मस्यौदा पारित नहुदा निर्वाचन प्रक्रिया लम्बिएको हो । विधान मस्यौदा पारित गर्नका लागि बिहान ११ बजे बन्द सत्र सुरु हुदैछ ।
विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले बताए । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्रवेश पाउने छ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।
हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ। वरिष्ठ नेतालाई भने उपाध्यक्षमा समेट्न लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।
विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढाउने निर्वाचन समितिको तयारी छ । निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आज विधान पारित भए चुनावी प्रक्रिया तत्कालै सुरु गरिने छ ।