काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज सकिनु पर्ने महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउन नै दुई दिन लागेपछि लम्बिएको हो । नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको कार्यसूची लम्ब्याउनु परेको माओवादी केन्द्रले जनाएको छ ।
शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन सक्ने बताइएको छ । पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने बताए ।
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस ११ आइतबार देखि प्रज्ञा प्रतिस्ठान कमलादीमा जारी छ ।
माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले दिएको जानकारीअनुसार समूहगत प्रस्तुति सकिएसँगै शुक्रबार पुनः दिउँसो १ बजे पुनः बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । शुक्रबारको बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ ।
आज सकिएको निश्कर्ष सुनाउने कार्यक्रममा अधिकांशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै उनीहरुले अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकाल, मन्त्री र सांसदमा चार कार्यकालभन्दा बढी हुन नहुने व्यवस्था राख्न माग गरेका छन् ।
पार्टी कमिटीको प्रमुख पदमा दुई कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरूमा एक कार्यकाल मात्र पठाउनुपर्ने र अवसरहरूको वितरणमा आलोपालो प्रणाली अवलम्बन गर्नुपर्ने, पार्टीमा ७० वर्षीय उमेर हद तोकेर अनिवार्य अवकाशको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।