काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा नेताहरुले प्रस्तुत गरेको प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ। गत सोमबार अध्यक्ष पुष्पकमल दाहालले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।
सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको थियो भने बुधबार र बिहीबार समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष पेस गरेका हुन्।
आज १४ वटा समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका छन् । हिजो र आज कार्यकर्ताको निष्कर्ष सुनेका अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ भोलि दिने बताएका छन् ।
अध्यक्ष दाहालले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष दाहालले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया भोलि मात्रै सुरु हुने भएको हो ।
आइतबारबाट जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ।