काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिवल टोलीका सदस्यलाई जनही पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेकोमा खुसी व्यक्त गर्दै विजेता नेपाली टोलीका १२ जना खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रशिक्षकलाई तीन लाख र अफिसियललाई पनि दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । खेलाडीलाई नगद दिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो ।
बङ्गलादेशको ढाकामा हिजो भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाली टोली भोलि नेपाल फर्कनेछ ।